Home » Blog » अदालतको परमादेशपछि हरि खेतान विद्यालयमा अञ्जली श्रेष्ठलाई काम गर्न बाटो खुल्यो

अदालतको परमादेशपछि हरि खेतान विद्यालयमा अञ्जली श्रेष्ठलाई काम गर्न बाटो खुल्यो

Ankushdaily
0 comment 71 views
वीरगञ्ज।
हरि खेतान माध्यमिक विद्यालयको निमित्त प्रधानाध्यापकका रूपमा अञ्जली कुमारी श्रेष्ठलाई कामकाज गर्न बाटो खुलेको छ। उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले एक परमादेश जारी गर्दै उनलाई विद्यालयमा हाजिर भई आफ्नो जिम्मेवारी निर्वाह गर्न दिन सरोकारवाला निकाय र विपक्षीहरूको नाममा आदेश दिएको हो। न्यायाधीशद्वय हरिप्रसाद पौडेल र हरिराज कार्कीको संयुक्त इजलासले श्रेष्ठको काममा कुनै पनि किसिमको बाधा अवरोध नपुऱ्याउन र काम गर्ने उचित वातावरण सिर्जना गर्न त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हरि खेतान बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुखसहितका विपक्षीहरूलाई स्पष्ट निर्देशन दिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वारा मिति २०८२ जेठ १ गते निमित्त प्रधानाध्यापकमा नियुक्त भएपछि श्रेष्ठ पदभार ग्रहण गर्न जाँदा क्याम्पस प्रमुख किशोरी राय र त्यहाँ कार्यरत कर्मचारीहरूले उनलाई विद्यालय प्रवेशमा रोक लगाएका थिए। एउटै हाताभित्र क्याम्पस र विद्यालय सञ्चालनमा रहेको अवस्थामा क्याम्पस प्रशासनले विद्यालयको कामकारबाहीमा हस्तक्षेप गर्दै आफूलाई जिम्मेवारीबाट वञ्चित गरेको भन्दै श्रेष्ठले अदालतमा न्यायको माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्। विपक्षीहरूको उक्त कार्यबाट निवेदकको संविधानप्रदत्त रोजगारीको हक र स्वतन्त्रतामा गम्भीर आघात पुगेको अदालतले ठहर गरेको छ।
फैसलामा अदालतले विद्यालय र क्याम्पसको कानुनी हैसियत तथा सञ्चालन प्रक्रिया पूर्ण रूपमा फरक रहेको स्पष्ट पारेको छ। हरि खेतान माध्यमिक विद्यालय वीरगञ्ज महानगरपालिकाबाट अनुमति प्राप्त संस्थागत विद्यालय भएको र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कानुनबमोजिम नै श्रेष्ठलाई नियुक्त गरेको अदालतको ठहर छ। साथै, त्रिभुवन विश्वविद्यालयको नियमअनुसार विद्यालय रहेको भवनमा क्याम्पसका शैक्षिक कार्यक्रम सञ्चालन गर्न नमिल्ने र क्याम्पस प्रमुखले विद्यालयको प्रशासनमा हस्तक्षेप गर्ने कुनै कानुनी अधिकार नभएको फैसलामा उल्लेख छ। यससँगै अदालतले निमित्त प्रधानाध्यापक श्रेष्ठलाई तत्काल हाजिर गराई तोकिएको काम निर्बाध रूपमा गर्न दिन विपक्षीहरूको नाममा परमादेश जारी गरेको छ।

परमादेश

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.