Home » Blog » स्काइलाइन इन्फ्राले ३५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने

स्काइलाइन इन्फ्राले ३५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने

Ankushdaily
0 comment 104 views

वीरगञ्ज ।

स्काइलाइन इन्फ्रा लिमिटेडले सर्वसाधारणका लागि आफ्नो कुल जारी पुँजीको २० प्रतिशत शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। वैशाख ११ गते वीरगञ्जस्थित होटल सरोवरमा कम्पनीका अध्यक्ष प्रतीक अग्रवालको अध्यक्षतामा सम्पन्न विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो। यससँगै सभाले आईपीओ निष्कासनसम्बन्धी सम्पूर्ण कार्य अगाडि बढाउने र संस्थापक समूहको बाँकी शेयर प्रिमियम मूल्यमा बिक्री गर्ने पूर्ण अधिकार सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ।

हाल यस कम्पनीको कुल जारी पुँजी एक अर्ब ७५ करोड (१७५ करोड) रुपैयाँ रहेको छ। सोही पुँजीको २० प्रतिशतले हुन आउने ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता शेयर आगामी आर्थिक वर्ष २०८२/८३ भित्र सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीको तयारी छ। शेयर निष्कासनमार्फत पुँजी विस्तार भई आगामी दिनमा आफ्ना परियोजनाहरूलाई थप मजबुत र प्रभावकारी रूपमा अगाडि बढाउन मद्दत पुग्ने कम्पनीको विश्वास छ।

वीरगञ्जलाई नयाँ व्यापारिक हबका रूपमा स्थापित गर्ने उद्देश्यसहित कम्पनीले आदर्शनगरमा ‘स्काइलाइन मल’ नामक बहुआयामिक ९ तले आधुनिक व्यावसायिक भवन सञ्चालनमा ल्याइसकेको छ। ‘योर न्यु डेस्टिनेसन’ को अवधारणा अनुरूप विकास गरिएको यस मलको भुइँ तलामा विभिन्न ब्रान्डेड रिटेल पसल, पहिलो तलामा क्यासिनो र दोस्रो तलामा क्यूएफएक्स सिनेमा हल सञ्चालनमा छन्। त्यसैगरी, तेस्रो तलाभन्दा माथि सरोवर समूहको व्यवस्थापनमा करिब ६० कोठा क्षमताको सुविधायुक्त चारतारे होटल सञ्चालित छ, जसमा रेष्टुरेन्ट, बैंक्वेट हल, सभा–सम्मेलन कक्ष तथा रुफटप रेष्टुरेन्टजस्ता सुविधाहरू उपलब्ध गराइएको छ।

सन् २०८१ सालदेखि औपचारिक रूपमा व्यावसायिक सञ्चालनमा आएको यस कम्पनी छोटो समयमै बलियो वित्तीय अवस्थामा पुगेको छ। कम्पनीका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ मै संस्था मुनाफामा गइसकेको छ भने यसको नेटवर्थ पनि सकारात्मक रहेको छ। बलियो पूर्वाधार र नाफामूलक अवस्थामा रहेको हुँदा स्काइलाइनको आईपीओमा सर्वसाधारणको राम्रो आकर्षण रहने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.