Home » Blog » थ्री बि अर्थात वीरगंज, बिमल र विकास

थ्री बि अर्थात वीरगंज, बिमल र विकास

Ankushdaily
0 comment 60 views

(स्तम्भकार कुमार रुपाखेती)

विमल श्रीवास्तव अहिले मुटुको शल्यक्रिया गरेर गंगालाल हस्पिटल काठमाडौँमा स्वास्थ्य लाभ गरिरहेका छन् । शुभचिन्तकहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेको देखिन्छ । पटक–पटक वीरगंजको मेयर बनेका उनी यहाँका चर्चित व्यक्ति हुन् । वीरगंज नगरपञ्चायतमा प्रधानपञ्च, वीरगंज नगरपालिका र उपमहानगरपालिका पटक–पटक मेयर भएका हस्ती हुन् विमल श्रीवास्तव ।

पालिकामा गोपाल प्रसाद प्रधान र विमल श्रीवास्तवले पटक–पटक जितेकाले “पटके मेयर” पनि भनिन्छ । जवानीका बेला अध्ययन गर्न उनी वीरगंजको ठाकुरराम आए अनि वीरगंजकै बनेर बसे । २०३३ सालमा वडा नं. ६ को वडाध्यक्ष र २०३८ मा प्रधानपञ्च बनेपछि उनको राजनीतिक हाइट क्रमशः बढेको देखिन्छ । पूर्व मेयर प्रदीप सुवेदीका अनुसार त्यतिबेला जगदीश शर्मा, हरिशंकर सिंह, प्रदीप सुवेदी, जुम्मादीनहरू स्वतन्त्र विद्यार्थी मण्डलमा चल्ताफिर्ता हस्ती थिए । पञ्चायत कालमा मात्र होइन बहुदल कालमा समेत विमल श्रीवास्तव पटक–पटक मेयर बने । जमानामा उनले गोपाल प्रधान, प्रेमशर्मा ‘वकिल’, दोलेन्द्र अमात्य, चिरंजीवी सरावगी देखि कबुतरीदेवी ‘हँसिया छाप’ लाई हराई आफ्नो ओहदा जोगाउँदै बर्चस्व कायम गर्दै आएका थिए । विभिन्न कारणले राजावादी पार्टी छोडेर उनी २०७४ सालमा पर्सा क्षेत्र नं. २ बाट ज.स.पा. नेपालबाट सांसद पनि बने । नगरप्रमुख हुँदा उनको कार्यकालमा घडिअर्वा परिसर, अन्तर्राष्ट्रिय स्तरको स्विमिङ पुल, नारायणी रंगशाला, घण्टाघर, लछुमनवा पार्क, शंकराचार्य गेट र वि.पि. उद्यानको जग्गा खरिद गरेका थिए । नगरसभा गृहलाई खै के भनु ? उनकै पालामा विभिन्न वडाहरूमा खानेपानी, सडक, धर्मशाला र क्लबहरू निर्माण गरिएको इतिहास छ । बहुदल आएपछि विभिन्न राजनैतिक दलबाट जितेर आएका उपमेयर, वडाध्यक्षहरूसँग तालमेल मिलाएर नगर विकासको काम गरेको देखिन्छ । बाइपास रोडको प्लटिङमा समेत उनको योगदान छ । तर अरूले झै उनले प्लट जग्गा खरिदमा हानथाप नगरेको र एक कित्ता जग्गा समेत लिएनन् । वीरगंजमा सर्वप्रथम ट्राफिक लाइट लगाउने श्रेय पनि विमल श्रीवास्तवलाई नै जान्छ । उनी खेलकुदका पनि पारखी थिए । उनकै अगुवाइमा वीरगंजमा महेन्द्र गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुन्थ्यो । त्यतिखेर कमल थापाका भाइ गणेश थापा, राजुकाजी शाक्य र वीरगंजका अनिल रुपाखेती मशहुर फुटबलर थिए । उनकै पालामा डा. राधा कृष्ण कोइरालाले थुप्रै आँखा रोगीहरूको सफल अपरेशन गरे । बढ्दो उमेर र विभिन्न कारणहरूले गर्दा विमल श्रीवास्तव अहिले सक्रिय राजनीतिमा छैनन् । उनको राजनैतिक जीवन रिटायर्ड अर्थात सन्यासतर्फ देखिन्छ । तर पनि नयाँ नेताहरू उनको राय–सल्लाहका लागि आइरहन्छन् । पूर्व मन्त्री राजीव पराजुली, पूर्व मेयर प्रदीप सुवेदी, वर्तमान मेयर राजेशमान र अन्य थुप्रै राजनीतिक व्यक्तित्वहरू गंगालालमै पुगेर श्रीवास्तवलाई भेटेको देखिन्छ । गुड । जमानामा चन्द्रदेव चौधरीलाई “शेरे पर्सा” र विमल श्रीवास्तवलाई “शेरे वीरगंज” भनिन्थ्यो । सानोतिनो विवाद बाहेक विमल श्रीवास्तवले सफलतापूर्वक नगरपालिका सञ्चालन गरेको देखिन्छ । उनीपछि नमुना स्तरको विकास गर्ने हस्ती वीरगंज नगरपालिकाले पाएन । त्यसैले त अझै पनि विमल श्रीवास्तवको बारेमा अनुभवीहरूले “टाइगर अभी जिन्दा है” भन्छन् ।

उनको पालामा स्विमिङ पुल आदर्शनगरमा राष्ट्रिय पौडी प्रतियोगिता भएको, टाउन हलमा सांस्कृतिक कार्यक्रम भएको, घडिअर्वा परिसरमा डुंगा सयर गरेको, म्युजिकल फाउन्डेसन चलेको, नारायणी र आदर्शनगर रंगशालामा राष्ट्रिय स्तरीयको फुटबल हुने गरेको ताजै छ । यी राष्ट्रिय धरोहरहरूको अहिलेको ताजा दुर्दशा हेर्नुस् । को जिम्मेवार छ, “कौन बनेगा करोडपति” झै उत्तर पनि दिनुस् । त्यसैले त म भन्छु, थ्री बी अर्थात वीरगंजको विकासमा विमल श्रीवास्तव योद्धा हुन् ।

अंकुश दैनिक परिवार पनि वहाँको तन्दुरुस्तीको कामना गर्दछ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.