Home » Blog » काठमाडौं–तराई द्रुतमार्गको आजदेखि औपाचारिकरुपमा निर्माण सुरु

काठमाडौं–तराई द्रुतमार्गको आजदेखि औपाचारिकरुपमा निर्माण सुरु

अंकुश दैनिक
0 comment 13 views

काठमाडौं । काठमाडौं–तराई– मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) को आइतबारदेखि औपाचारिकरुपमा निर्माण सुरु हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बाराको निजगढको सुरु विन्दुमा विधिवत् शिलान्यास गर्ने कार्यक्रम छ । सिलान्यासपछि द्रुतमार्गको औपचारिक निर्माण सुरु हुनेछ। काठमाडौं उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किलोमिटर दुरीको द्रुतमार्ग नेपाली सेनाले आगामी ४ वर्षमा पूरा गर्ने अठोटका साथ निर्माणकार्य सुरु गर्न लागेको हो। द्रुतमार्ग निर्माण गर्न कसलाई दिने भन्ने विषयमा प्रमुख राजनीतिक दलबीच निकै ठूलो विवाद र बहसपछि सरकारले नेपाली सेनालाई जिम्मेवारी सुम्पिएको हो। सडक निर्माण गर्न ठेक्का दिने विषयलाई राजनीतिक दलहरुले राष्ट्रियताको मुद्दासँग पनि जोडेर हेर्दै आएका थिए ।

द्रुतमार्गको निर्माणलागत एक खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ललितपुरको खोकनाबाट सुरु भई बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोडिने द्रुतमार्गको ट्र्याक खोल्ने जिम्मा सरकारले नेपाली सेनालाई २०६६ सालमा दिएको थियो। सेनाले उक्त मार्गको ट्र्याक खोल्ने काममा स्थानीय जनतालाई उच्च प्राथमिकताका साथ संलग्न गराइ उनीहरुलाई फाइदा पुग्ने खाले आयमूलक कार्यक्रमसमेत सञ्चालन गरेको थियो। सेनाले उक्त मार्गको ट्र्याक खोल्ने काम २०७० सालको प्रारम्भमै पूरा गरेको थियो। यसअघि निजी साझेदारी अवधारणामा निर्माण गर्न खोजिएको थियो । निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलले सडकको महत्वलाई अझ उजागर गर्नेछ।

द्रुतमार्गमा साना ठूला गरी १०० को हाराहारीमा पुल निर्माण गरिने छ। द्रुतमार्गमा निर्माण हुने पुलको लम्बाइ मात्र जोड्दा पनि नौ किलो मिटर भन्दा बढी हुने सहायकरथी एवम् विकास निर्माण निर्देशक उद्वव विष्टले जानकारी दिए। त्यस्तै, मकवानपुरको ठिङगनमा १.४ किलोमिटर लामो सुरुङ निर्माण हुने छ । द्रुतमार्ग निर्माणपछि तराई–मधेसबाट राजधानी आउन दिनभर खर्चनुपर्ने समय घटेर डेढ घन्टामा सीमित हुने अपेक्षा गरिएको छ।

द्रुतमार्ग निर्माणपछि राजधानीलगायतका क्षेत्रमा ल्याइने पेट्रोलियम पदार्थको ढुवानीमा मात्र खर्च हुँदै आएको रकममा वार्षिक रुपमा १० अर्ब बचत हुने विश्वास गरिएको छ। नेपाली सेनाले निर्माण गरेका सडक व्यवस्थित, राजनीतिक हस्तक्षेप कम हुने तथा दीगो र कम खर्चमा छिटो निर्माण हुने निष्कर्षसहित सरकारले द्रुतमार्ग जस्तो महत्वकाक्षी आयोजना सेनालाई जिम्मा दिएको हो। दायाँबायाँ ५० मिटर दिएर जग्गा अधिग्रहण गरिएको २२ मिटर चौडाइ हुने द्रुतमार्ग चार लेनको हुनेछ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.