4.8K
बिरगंज ।
एक महिनाको अन्तरालमा कुख्यात तस्कर मदन गुप्ता ऊर्फ रुन्चेले सञ्चालन गर्दै आएको जय माँ दुर्गा करियर (ट्रान्सपोर्ट)को गोदाममा दुइ चोटी छापा परेको छ।
आज शनिवार सशस्त्र प्रहरी टोलीले उक्त करियरको गोदाममा छापामारी गरी करिब ६६ लाख रुपैयाँ मुल्य बराबरको मालसामान नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज भन्सारमा खटिएको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल नेतृत्वको टोलीले छापा मारेर राजश्व छलीको आशंकामा कपडा, काजु, स्टिलका भाँडावर्तन, ग्याँस चुल्हा, लहँगा , सर्टिङ्ग सुटिङ्ग लगायतको सामान बरामद गरेको हो ।
बरामद गरिएको मालसमान आवशयक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
यसअघि एक महिना पहिले चैत ८ गते बिहिवार जिल्ला प्रहरी कार्यालय पर्साले त्यहि ट्रान्सपोर्टमा छापा मारेर करिब २० लाख मूल्यको १८ पोका कपडा बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले सो बखत माल भन्सार चलान गर्दा मदन गुप्ताको नाम उल्लेख गरेर भन्सार चोरी पैठारी सम्बन्धी कसुर अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाउन लेखेको भएता पनि भन्सारका कर्मचारीहरुको चहेता मदन गुप्ता उर्फ रुन्चे माथि कुनै कारवाही गरिएन । गुप्ताले लगभग एक दर्जन ई-रिक्सामा फल्स बटम बनाई तीन दर्जन मान्छे खटाएर दिन भरी तिनीहरुलाई नै ई-रिक्सामा यात्रु बनाएर अनेकौ पटक मुख्य भन्सार नाकाबाट नै तस्करीको सामान ओसारेर गोदाम भर्ने गरेका थिए ।
आज भन्सारमा खटेको सशस्त्र प्रहरीले ई रिक्सा पछ्याएर मदनको गोदाममा छापा मारेको थियो ।
सम्बन्धित समाचार:
मदन गुप्ताको गोदाममा पर्सा प्रहरीको छापा, लाखौंको कपडा बरामद