Home » Blog » मितेरी पुल क्षेत्रमा नेपाल–भारत सुरक्षा निकायको संयुक्त सरसफाइ अभियान सम्पन्न

मितेरी पुल क्षेत्रमा नेपाल–भारत सुरक्षा निकायको संयुक्त सरसफाइ अभियान सम्पन्न

Ankushdaily
0 comment 8 views
वीरगञ्ज ।
नेपाल–भारत मैत्रीको प्रतीक मानिने वीरगञ्ज–रक्सौल नाकास्थित मितेरी पुल क्षेत्रमा आइतबार बिहान नेपाल र भारतका सुरक्षा निकाय तथा स्थानीय संस्थाहरूको संयुक्त पहलमा बृहत् सरसफाइ अभियान सम्पन्न भएको छ।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानका अनुसार दैनिक हजारौँ पैदल यात्री र सवारी साधनको चाप रहने उक्त क्षेत्रलाई स्वच्छ, सुरक्षित र आकर्षक बनाउन अभियान सञ्चालन गरिएको हो।
महानगरपालिकाको नेतृत्वमा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ४७औँ बटालियनले संयुक्त रूपमा सहभागिता जनाए।
लामो समयपछि यति ठूलो स्तरमा भएको सरसफाइमा पुलमा थुप्रिएको फोहोर, झाडी र अव्यवस्थित सामग्री हटाउने, सडक तथा छेउछाउ धुने र समग्र क्षेत्र व्यवस्थित गर्ने कार्य गरिएको थियो। सहभागीहरूले यसले दुवै देशका सुरक्षा निकाय र स्थानीय तहबीचको समन्वय र मित्रता झल्काएको बताएका छन्।
कार्यक्रममा अध्यक्ष खेतानले भारतीय एसएसबी ४७ बटालियनका कमान्डिङ अफिसर सञ्जय रावतलाई गमलासहितको बिरुवा प्रदान गर्दै सीमा क्षेत्रलाई हरियालीयुक्त र व्यवस्थित बनाउन दुवै पक्षको निरन्तर सहकार्य अपरिहार्य रहेको बताए।
भारतीय पक्षबाट कमान्डिङ अफिसर सञ्जय रावत, डेपुटी कमान्डेन्ट दीपक कृष्णा, डेपुटी कमान्डेन्ट नवीन कुमारलगायतका अधिकारी उपस्थित थिए। नेपालतर्फ सशस्त्र प्रहरी, जिल्ला प्रहरी, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी तथा स्थानीय प्रतिनिधिहरू सक्रिय रूपमा सहभागी थिए।
सहभागीहरूका अनुसार यस्तो संयुक्त अभियानले नेपाल–भारतबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई थप मजबुत बनाउने महत्वपूर्ण भूमिका खेल्छ। स्थानीय बासिन्दाले पनि मितेरी पुल क्षेत्रमा नियमित सरसफाइ र हरियाली संरक्षणका कार्यक्रम निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन्।
अभियानले सीमा क्षेत्रको स्वच्छता, सुरक्षा र सौन्दर्यीकरणसँगै दुवै देशबीचका जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.