48
काठमाडौँ ।
देशभरका भन्सार एजेन्टहरू भन्सार ऐन २०८२ का प्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएका छन्। महासंघका सदस्यहरूले देशभरका भन्सार कार्यालयहरूमा पेन डाउन गर्दै विरोध जनाएका हुन्।
भन्सार ऐन २०८२ मा समावेश गरिएका केही प्रावधानहरूले भन्सार एजेन्टहरूको पेशागत हकहित, कार्यसहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक असर पर्ने भएकाले आन्दोलन गर्नुपरेको भन्सार एजेन्ट महासंघ नेपालका अध्यक्ष प्राचिनकुमार थैवले बताए। उनले भने, “यति धेरै समस्यायुक्त प्रावधानले अन्तर्राष्ट्रिय व्यापार प्रक्रियामा समेत प्रतिकूल प्रभाव पार्नेछ।”
महासंघका पदाधिकारीका अनुसार ऐनको विरोधस्वरूप आइतबार वीरगञ्ज भन्सार कार्यालय र सोमबार भैरहवा भन्सार कार्यालय पूर्ण रूपमा ठप्प पारिएको थियो। नयाँ भन्सार ऐन जारी भएपछि देखा परेका समस्या तथा एजेन्टहरूको पेशागत माग समेटेर समाधान नभए, मंगलबारदेखि थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने जनाइएको छ।
हालै लागू गरिएको ऐनमा भन्सार एजेन्टको नाम दर्ता, दण्ड–जरिवाना, इजाजतपत्रको नवीकरण तथा निलम्बन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीसँग सम्बन्धित ‘युजर आईडी’ व्यवस्थापन, ‘एक्जिट नोट’ र ‘इन्ट्री नोट’ व्यवस्था लगायतका विषय स्पष्ट नहुँदा एजेन्टहरूले आपत्ति जनाएका छन्। महासंघले मालवस्तु जाँचपास प्रक्रिया केवल इजाजत प्राप्त भन्सार एजेन्टमार्फत नै हुनुपर्ने माग पनि राखेको छ।
महासंघले आफ्नो मागको बेवास्ता गरी लागू गरिएको ऐनले अनावश्यक दण्ड–जरिवाना थपेको, वैध व्यापारलाई निरुत्साहित गर्ने तथा तजबिजी अधिकारलाई बढावा दिने जस्ता समस्याहरू उत्पन्न भएको आरोप लगाएको छ।
भन्सार जाँचपासमा हुने ढिलासुस्ती, स्वचालन प्रणालीमा दोहोरिने सर्भर समस्या, राजस्व भुक्तानी तथा क्वारेन्टाइनसम्बन्धी बाधाबारे पटक–पटक विभागसँग समन्वय गरे पनि समाधानको पहल नदेखिएको आन्दोलनरत पदाधिकारीहरूको गुनासो छ। उनका अनुसार, यही कारणले भन्सार प्रक्रियाहरू सहज र सरल बन्न सकेका छैनन्।
