Home » Blog » कुख्यात तस्कर तेज करणको करोडौँको सुपारी पर्सा प्रहरीद्वारा बरामद

कुख्यात तस्कर तेज करणको करोडौँको सुपारी पर्सा प्रहरीद्वारा बरामद

Ankushdaily
0 comment 165 views
वीरगन्ज ।
मलेसियाबाट आयात गरिएको सुपारी भारततर्फ अवैध रूपमा पठाउने तयारी भइरहेका बेला पर्सा प्रहरीले छापा मारेर कुख्यात तस्कर तेज करण जैनसँग सम्बन्धित १८ सय बोरा सुपारी नियन्त्रणमा लिएको छ।
प्राप्त विवरणअनुसार मंसिर २९ गते मलेसियास्थित भर्साटायल इन्टरप्रेन्योरियल भेन्चर्सबाट ओम साई प्रोडक्ट्स, महोत्तरीले ९ सय बोरा सुपारी नेपाल भित्र्याएको थियो। त्यसैगरी पुस २ गते ओम साई प्रोडक्ट्सले मलेसियाकै जस्मिन मल्टिट्रेडबाट समान परिमाणको सुपारी आयात गरी वीरगन्ज भन्सारमा एजेन्ट सुभास पाण्डेमार्फत राजस्व दाखिला गर्दै सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेको देखिन्छ।
तर महोत्तरीको बर्दिबासतर्फ लैजानुपर्ने उक्त सुपारी त्यहाँ नपठाई वीरगन्जको पुरानो भन्सार क्षेत्र नजिकै रजत जयन्ती चौक, इनर्वास्थित तेज करण जैनले आफ्ना छोरा निशान्त लुनावतको नाममा राखेको गोदाममा अनलोड गरिएको थियो।
मंसिर २९ गते भन्सारबाट छुटेको सुपारी गोदाममा भण्डारण गरिएको अवस्थामा र पुस २ गते छुटाइएको सुपारी अनलोड हुँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी उपरीक्षक सुदीपराज पाठकको नेतृत्वमा छापा मारी बिहीबार सुपारी बरामद गरेको हो।
वीरगन्ज भन्सारबाट बर्दिबास लैजान छुट्याइएको सुपारी फेरि वीरगन्जमै गोदाम भाडामा लिएर भारततर्फ अवैध रूपमा पठाउने उद्देश्यले राखिएको स्पष्ट भएको प्रहरीको दाबी छ।
भारत राजस्थान राज्यको विकानेर जिल्लास्थित नोखा तहसील, नोखा मण्डी वडा नम्बर ९ लखरा चौक कतला रोडका स्थायी बासिन्दा तेज करण लुनावत जैन यसअघि पनि पटक–पटक प्रहरी कारबाहीमा परिसकेका व्यक्ति हुन्। अघिल्लो समय भारतको अघोषित नाकाबन्दीका बेला काठमाडौं प्रहरी परिसरले तेज करणको धनलक्ष्मी दाल मिल प्रा.लि. को गोदाममा छापा मारी ५० हजार किलो विभिन्न प्रकारका दाल बरामद गरेको थियो। सोही प्रकरणमा कालोबजारीको अभियोग लागेपछि उनी भारततर्फ फरार भएका थिए भने नेपाली नागरिक शशिकान्त अधिकारी र भारतीय नागरिक रञ्जित प्रसाद पक्राउ परेका थिए।
कोभिड लकडाउनको समयमा गुणस्तरहीन दाल बिक्री गरेको अभियोगमा बारा प्रहरीले कारबाही अघि बढाउँदा तेज करणले तत्कालीन प्रजिअलाई प्रभावमा पारी २०७७ सालमै हिरासतबाट छुटेको आरोप पनि छ। त्यसपछि २०७८ सालमा वीरगन्ज आईसीपी नाकाबाट टर्कीबाट आयात गरिएको पोस्ता दानाको साटो मोब सिड १३ कन्टेनरमार्फत दुई लाख ३२ हजार किलो सामग्री कुबेर एक्सिम र धनलक्ष्मी फुडको नाममा भित्र्याई भारततर्फ निकासी गरिएको घटनामा पनि उनको नाम जोडिएको थियो। सो घटनामा राजनीतिक दबाबका कारण प्रभावकारी कारबाही हुन नसकेको प्रहरी स्रोतको भनाइ छ।
प्रहरीका अनुसार तेज करणले पटक–पटक विवादमा परेपछि गरिब नेपाली नागरिकको नाममा फर्म दर्ता गरी तस्करीजन्य कारोबार गर्दै आएका छन्। पछिल्लो पटक ओम साई प्रोडक्ट्स, महोत्तरी बर्दिबासको ठेगाना प्रयोग गरी मलेसियाबाट सुपारी आयात गरेर भारततर्फ पठाउने योजना बनाइएको अनुसन्धानबाट खुलेको छ।
सुपारी बरामद भएपछि सामान आफ्नो नभएको दाबी गर्दै ओम साई प्रोडक्ट्सका सञ्चालक युवराज पराजुली र निशान्त लुनावत जैनबीच नक्कली गोदाम भाडा सम्झौताको कागजात देखाउने प्रयास भएको पनि प्रहरीले जनाएको छ।
चार करोड ३० लाख ४८ हजार ६ सय ६६ रुपैयाँ बराबरको सुपारी पर्सा प्रहरीले बिहीबार नै राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ। छापामारीका क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक सुदीपराज पाठक तथा सशस्त्र प्रहरी बल, नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म वीरगन्जका डीएसपी पुरुषोत्तम भण्डारी पनि उपस्थित थिए। यसैबीच तेज करण जैनले विभिन्न शक्ति केन्द्रमार्फत सुपारी छुट्याउने प्रयास थालेको बुझिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.