Home » Blog » महामन्त्रीद्वयद्वारा विशेष महाधिवेशनको तयारी, भृकुटीमण्डपमा हल बुक

महामन्त्रीद्वयद्वारा विशेष महाधिवेशनको तयारी, भृकुटीमण्डपमा हल बुक

Ankushdaily
0 comment 9 views
काठमाडौँ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्ने तयारी थालेका छन्। आगामी २७ पुसमा विशेष महाधिवेशन बोलाउने तयारी भइरहेको जानकारी केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले दिएका छन्।
विशेष महाधिवेशनको तयारीस्वरूप भृकुटीमण्डपस्थित हलसमेत बुकिङ गरिएको छ। “तीन दिनभित्र विशेष महाधिवेशन आह्वानसम्बन्धी पत्रकार सम्मेलन गर्ने र हाल नियमित महाधिवेशन स्थगित भएको जानकारी दिने गरी वक्तव्य सार्वजनिक गर्ने तयारी भइरहेको छ,” शिवाकोटीले बताए।
नियमित महाधिवेशन स्थगित भएसँगै विशेष महाधिवेशन आह्वान गर्ने विषयमा दुवै महामन्त्रीबीच निरन्तर छलफल भइरहेको छ। यद्यपि, पार्टी नेतृत्व भने विशेष महाधिवेशनको पक्षमा देखिएको छैन। “विशेष महाधिवेशन आह्वान हुने जानकारी नेतृत्वलाई औपचारिक रूपमा गराउनेछौँ। सभापतिजीलाई अध्यक्षता गरिदिन आग्रह गर्दै निम्तो दिन जानेछौँ,” शिवाकोटीले स्पष्ट पारे।
विशेष महाधिवेशन पक्षधर महामन्त्रीहरूसँग सभापति शेरबहादुर देउवाले बैठक गर्ने तयारीसमेत गरेका थिए। देउवाले बिहीबार साँझ ५ बजे कार्यवाहक सभापतिसहित बैठक बोलाएका थिए। तर, “उहाँले अचानक बैठक स्थगित भएको सूचना पठाउनुभएको छ,” शिवाकोटीले बताए।
यसअघि ९ पुसमा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठक प्रतिनिधिसभा समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा बुझाएपछि पुनः बसेको छैन। यसबारे मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, “नेताहरूबीच छलफल भइरहेको छ, तर बैठक बस्न सकेको छैन। कुनै निष्कर्ष निस्कने अपेक्षा छ।”
कांग्रेसले यसअघि २७ पुसमै नियमित महाधिवेशन आह्वान गरेको थियो। विशेष महाधिवेशनको माग गर्दै २९ असोजमा ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर केन्द्रीय कार्यालयमा बुझाएका थिए। ती हस्ताक्षर प्राप्त भएपछि नै केन्द्रीय कार्यालयले नियमित महाधिवेशन आह्वान गरेको थियो।
तर, नियमित महाधिवेशन हुने सम्भावना कमजोर बनेपछि विशेष महाधिवेशन पक्षधरहरूले नेतृत्वमाथि दबाब बढाएका छन्। पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.