Home » Blog » सरकारी छाप र हस्ताक्षर किर्ते गरी छोकडा आयात गर्न खोज्ने व्यापारी अग्रवाल वीरगञ्जबाट पक्राउ

सरकारी छाप र हस्ताक्षर किर्ते गरी छोकडा आयात गर्न खोज्ने व्यापारी अग्रवाल वीरगञ्जबाट पक्राउ

Ankushdaily
0 comment 278 views
विरगंज ।
सरकारी प्रतिबन्धका बाबजुद नक्कली कागजात खडा गरी भारी मात्रामा छोकडा आयात गर्न खोज्ने एक व्यापारीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंस्थित सिम्भिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक ५५ वर्षीय नविन कुमार अग्रवाल रहेका छन् । ब्यूरोले उनलाई लिखत सम्बन्धी कसुरको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरबाट पक्राउ गरेको हो ।
नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ बमोजिम २०७६ चैत २४ गते राजपत्रमा सूचना प्रकाशन गर्दै अर्को व्यवस्था नभएसम्मका लागि छोकडा आयातमा पूर्ण रूपमा बन्देज लगाएको थियो । तर, अग्रवालले उक्त सरकारी निर्णयलाई लत्याउँदै १०० टन छोकडा आयात गर्ने उद्देश्यले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पूर्वमहानिर्देशकको नाम, हस्ताक्षर, छाप र विभागको लेटरहेड समेत किर्ते गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसरी तयार पारिएको नक्कली अनुमतिपत्र उनले वीरगञ्ज भन्सार कार्यालयमा पेश गरेका थिए ।
सरकारी निकायको छाप र आधिकारिक हस्ताक्षर दुरुपयोग भएको पाइएपछि सीआईबीले यस विषयमा गम्भीरतापूर्वक अनुसन्धान अघि बढाएको थियो । काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर खटिएको प्रहरी टोलीले अग्रवाललाई नियन्त्रणमा लिएको हो । साविक वीरगञ्ज नगर पञ्चायत–११ स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका–६ रेशमकोटी बस्दै आएका अग्रवालमाथि अहिले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ अन्तर्गत ‘लिखत सम्बन्धी कसूर’ मा राखेर थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.