Home » Blog » वीरगञ्जमा प्रेस स्वतन्त्रता दिवस मनाइयो: स्वतन्त्र पत्रकारितामाथि चुनौती थपिएको भन्दै चिन्ता व्यक्त

वीरगञ्जमा प्रेस स्वतन्त्रता दिवस मनाइयो: स्वतन्त्र पत्रकारितामाथि चुनौती थपिएको भन्दै चिन्ता व्यक्त

Ankushdaily
0 comments 17 views
वीरगञ्ज ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले वीरगञ्जमा प्रभातफेरी सम्पन्न गरेको छ। शाखा अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा निकालिएको र्‍याली वीरगञ्जको घण्टाघरबाट सुरु भई नगरका मुख्य भागको परिक्रमापश्चात् पुनः सोही स्थानमा पुगेर समापन सभामा परिणत भएको थियो। उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय सचिव अशोक तिवारी, पर्सा शाखाका सचिव विजय महतो र सहसचिव एसके चौरसियासहित जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै अध्यक्ष खनालले पछिल्लो समय नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निरन्तर चुनौती थपिँदै गएको भन्दै चिन्ता व्यक्त गरे। सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेका मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल सञ्चालन तथा नियमन विधेयक र सूचना प्रविधि ऐनलगायतका सञ्चार सम्बद्ध कानुनहरूले स्वतन्त्र पत्रकारितालाई सङ्कुचित पार्न सक्ने भन्दै उनले त्यसमा महासङ्घको गम्भीर चासो रहेको स्पष्ट पारे।
यसका अतिरिक्त, सञ्चार क्षेत्रले हाल व्यहोरिरहेको चरम आर्थिक सङ्कट, पत्रकारहरूको बढ्दो पेसागत पलायन तथा निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन वितरण र सूचना प्रवाहमा गरिँदै आएको अवरोधले समग्र पत्रकारिता जगत् नै थप सङ्कटमा परेको यथार्थ उनले औँल्याए। दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीलाई शुभकामना दिँदै खनालले प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धनका निमित्त सञ्चार जगत्, पेसागत सङ्घसङ्गठन, नागरिक अगुवा र सरोकारवाला निकायबीच बलियो ऐक्यबद्धता आवश्यक रहेको कुरामा जोड दिए।

सम्बन्धित पोस्टहरू