42
वीरगञ्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले आफ्नो साङ्गठनिक विस्तार र चुनावी अभियानलाई तीव्रता दिँदै वीरगञ्जको पिपरामा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। घरदैलो कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित एक भेलामार्फत कृष्ण पटेलको नेतृत्वमा उक्त समिति गठन गरिएको हो। यो नयाँ समितिको निर्माणसँगै पिपरा क्षेत्रमा रास्वपाको सांगठनिक उपस्थिति थप सुदृढ बनेको आकलन गरिएको छ।
यसैबीच, वीरगञ्ज महानगरपालिका वडा नं. २३, सबैठवामा पनि पार्टीले ठूलो सफलता हासिल गरेको छ। रोशन यादव र रवि यादवको नेतृत्वमा रहेका सयौँ ‘जेनजी’ युवाहरू आज रास्वपामा प्रवेश गरेका छन्। नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै रास्वपा पर्साका सभापति एवं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि पन्तले भदौ २३ र २४ गतेको ‘जेनजीविद्रोह’ कै जगमा मुलुक अहिले परिवर्तनको संघारमा उभिएको चर्चा गर्नुभयो।
पन्तले अबको राजनीतिक परिवर्तनको नेतृत्व रास्वपाले नै गर्ने दाबी गर्दै युवाहरूको यो उत्साहपूर्ण प्रवेशले पर्सामा पार्टीको जित सुनिश्चित गरेको विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा जिल्ला सचिव सुदिश प्रजापति, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ, क्षेत्रीय सभापति राम आर्य लगायतका नेताहरूको उपस्थिति रहेको थियो।