Home » Blog » रास्वपा पर्साद्वारा वीरगञ्जमा वृहत् रक्तदान सम्पन्न

रास्वपा पर्साद्वारा वीरगञ्जमा वृहत् रक्तदान सम्पन्न

Ankushdaily
0 comment 38 views
वीरगञ्ज ।
वीरगञ्जमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले शनिबार एक वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। वीरगञ्जस्थित क्लासिक बेन्क्वेट हलमा आयोजित उक्त मानवीय कार्यमा ७ जना महिलासहित कुल १११ जनाले रक्तदान गरेका छन्। समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको यस कार्यक्रमले स्थानीय स्तरमा मानवता र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गरेको छ।
पछिल्लो समय वीरगञ्जको रक्तसञ्चार केन्द्रमा रगतको चरम अभाव हुँदा नारायणीलगायतका अस्पतालमा बिरामीको उपचारमा समस्या भइरहेको थियो। यही यथार्थलाई मनन गर्दै अत्यन्तै छोटो समयको तयारीमा कार्यक्रम आयोजना गरिएको रास्वपा पर्साका सभापति एवं पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) ले जानकारी दिए। रक्तदानले दातालाई कुनै शारीरिक नोक्सानी नपुर्याउने तर अर्को व्यक्तिको अमूल्य जीवन बच्ने भएकाले हरेक तीन महिनामा रक्तदान गर्न उनले सबैलाई आग्रहसमेत गरेका छन्।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेलले विषम परिस्थितिमा रास्वपाले चालेको यस कदमको प्रशंसा गर्दै रक्तदाताहरू नै समाजका वास्तविक नायक भएको बताए।
शिक्षाविद् मार्टिन मोक्तानको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा शैक्षिक सहिद मुकुन्द खनाल प्रतिष्ठान पर्साकी सभापति मुना खनाल, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, रास्वपा पर्साकी उपाध्यक्ष तुलसा पौडेललगायत सञ्चारकर्मी तथा समाजसेवीहरूको विशेष उपस्थिति रहेको थियो। रक्तदान कार्यलाई प्राविधिक रूपमा सफल बनाउन रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेयको नेतृत्वमा रेडक्रस, वीरगञ्ज नर्सिङ क्याम्पस र हिमाल इन्स्टिच्युट नर्सिङ कलेजका स्वयंसेवक टोलीले प्रभावकारी रूपमा सहजीकरण गरेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.