Home » Blog » ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिता सुरु

ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिता सुरु

Ankushdaily
0 comment 43 views

वीरगन्ज ।

वीरगन्जस्थित जीवन ज्योति सेकेन्डरी स्कुलका सञ्चालक एवं प्रिन्सिपल शिव गुप्ताले आफ्नी ममतामयी माता ज्ञानुदेवीको स्मृतिमा आयोजना गर्नुभएको ‘ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिता’ आजदेखि सुरु भएको छ। आदर्शनगरमा आयोजित एक विशेष समारोहका बीच प्रतियोगिताको उद्घाटन वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले गर्नुभयो। विद्यालयका प्रिन्सिपल गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन समारोहमा नगरप्रमुख सिंहले पानसमा दीप प्रज्वलित गर्दै प्रतियोगिताको औपचारिक शुभारम्भ गर्नुभएको हो।

उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि नगरप्रमुख सिंहले जीवन ज्योति स्कुलले आयोजना गरेको यस नकआउट फुटबल प्रतियोगिताले बालबालिकाहरूको शैक्षिक विकाससँगै अतिरिक्त क्रियाकलापमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले वीरगन्जको माटोलाई चिनेर प्रिन्सिपल गुप्ताले आफ्नी आमाको नाममा खेलकुद प्रतियोगिता आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो। विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद अपरिहार्य रहेको बताउँदै उहाँले ग्रास रुट (तल्लो तह) बाट नै खेलाडीहरू उत्पादन गर्न सके भविष्यमा उनीहरूले समाज र राष्ट्रलाई चिनाउन सक्ने धारणा राख्नुभयो।

समारोहमा वरिष्ठ पत्रकार दिपेन्द्र चौहान, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामा, मधेश प्रदेश उपाध्यक्ष पुरन प्रधान, सल्लाहकारहरू मनि पाख्रिन र लालबाबु पटेल लगायतको उपस्थिति रहेको थियो। त्यसैगरी, प्याब्सन वीरगन्ज महानगर अध्यक्ष राहुल श्रीवास्तव, उपाध्यक्ष शर्मानन्द कुशवाहा, हिसानका जिल्ला उपाध्यक्ष एवं प्याब्सन पूर्व अध्यक्ष आलोक चौरसिया, महानगर सचिव अमित आलोक, कोषाध्यक्ष सुरज बाबु पटेल, जिएचपी स्कुलका डाइरेक्टर ज्याक कौर, प्रिन्सिपल रमि कौर लगायत विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षक-शिक्षिकाको उल्लेखनीय सहभागिता रहेको थियो।

कुल १३ वटा विद्यालयहरूको सहभागिता रहेको यस प्रतियोगिताको उद्घाटन सत्रमा जीवन ज्योति स्कुलकी सञ्चालिका मिनाक्षी गुप्ताले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार उज्ज्वल घिमिरेले गर्नुभएको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.