Home » Blog » भूमिहीनको लगत सङ्कलनलाई प्रभावकारी बनाउन पर्सामा कम्प्युटर तालिम सम्पन्न

भूमिहीनको लगत सङ्कलनलाई प्रभावकारी बनाउन पर्सामा कम्प्युटर तालिम सम्पन्न

Ankushdaily
0 comment 21 views
वीरगञ्ज ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति पर्साले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको लगत सङ्कलन र प्रविष्टीकरण (Data Entry) कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरेको एकदिने कम्प्युटर तालिम सम्पन्न भएको छ। आयोगका जिल्ला सदस्य–सचिव राकेश झाको अध्यक्षतामा वीरगञ्जमा आयोजित उक्त तालिम कार्यक्रम बिहीबार सफलतापूर्वक सम्पन्न भएको हो।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै आयोगका जिल्ला अध्यक्ष तबरेज अहमदले भूमिहीनको समस्या केवल प्रशासनिक प्रक्रिया मात्र नभई यो सामाजिक न्याय र संविधानले प्रत्याभूत गरेको नागरिक अधिकारसँग जोडिएको गम्भीर विषय भएको बताउनुभयो। सरकारको प्राथमिकतामा रहेको लालपूर्जा वितरण अभियानलाई सार्थकता दिन तथ्याङ्कको शुद्धता अनिवार्य रहेको औंल्याउँदै उहाँले भन्नुभयो, “भूमिहीन दलित र सुकुम्बासीलाई न्याय दिलाउन सङ्कलित विवरणहरू त्रुटिरहित र पारदर्शी हुनुपर्छ। आजको यस तालिमले प्रविधिको सही प्रयोगमार्फत लगत इन्ट्री कार्यलाई छिटो र विश्वसनीय बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।” अध्यक्ष अहमदले स्थानीय तह, प्राविधिक जनशक्ति र आयोगबीचको त्रिपक्षीय समन्वयबाट मात्रै लक्षित नतिजा हासिल गर्न सकिने भन्दै तालिम प्राप्त जनशक्तिलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन समेत दिनुभयो।
कार्यक्रममा बोल्दै सभाध्यक्ष एवं सदस्य–सचिव राकेश झाले लगत फारम इन्ट्री प्रक्रियामा आइपर्ने प्राविधिक समस्या न्यूनीकरण गर्न र आयोगको डिजिटल प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तालिम केन्द्रित रहेको जानकारी दिनुभयो। उहाँले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागी प्राविधिकहरूलाई आग्रह गर्नुभयो। तालिमसत्रमा सहभागीहरूलाई लगत फारम इन्ट्री गर्ने प्रक्रिया, डाटा व्यवस्थापन, त्रुटि सच्याउने विधि तथा प्रतिवेदन तयारीका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
कार्यक्रममा आयोगका विज्ञ सदस्य सन्तोष राम, सदस्य शिव नारायण राम तथा जिल्लास्थित प्राविधिक कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले यस किसिमको व्यावहारिक तालिमले कार्यक्षेत्रमा आइपर्ने प्राविधिक जटिलता हल गर्न र आत्मविश्वासका साथ काम गर्न मद्दत पुगेको प्रतिक्रिया दिएका छन्। आयोगले आगामी दिनमा पनि कर्मचारी तथा प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.