Home » Blog » ठोरीबाट मानसिक अवस्था कमजोर भएका एक पुरुषको मानवसेवा आश्रमद्वारा उद्धार

ठोरीबाट मानसिक अवस्था कमजोर भएका एक पुरुषको मानवसेवा आश्रमद्वारा उद्धार

Ankushdaily
0 comment 8 views
वीरगञ्ज ।
पर्साको ठोरी गाउँपालिका वडा नं. ५, सुवर्णपुर चोकमा अलपत्र अवस्थामा फेला परेका एक पुरुषको मानवसेवा आश्रम वीरगञ्ज शाखाले मंगलबार उद्धार गरेको छ। आफ्नो नाम, थर र ठेगाना समेत स्पष्ट बताउन नसक्ने अन्दाजी ३० वर्षीय ती पुरुषको मानसिक अवस्था कमजोर रहेको पाइएपछि दिउँसो करिब २:३० बजे उद्धार गरी आश्रममा ल्याइएको हो। सडकपेटीमा कष्टकर जीवन बिताइरहेका उनको अवस्था दयनीय देखेपछि आश्रमले संरक्षणका लागि पहल गरेको हो।
उक्त मानवीय उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, आश्रमकी संयोजक मुना मगर तथा अभिभावक प्रकाश थारुको सक्रिय सहभागिता रहेको थियो। साथै, स्थानीय स्तरमा समन्वय गर्न ठोरी गाउँपालिका–५ का वडाध्यक्ष अष्टबहादुर लोप्चन र इलाका प्रहरी चौकी सुवर्णपुरका प्रहरी वरिष्ठ हवल्दार विवेक राउत कुर्मीले समेत प्रत्यक्ष उपस्थित भई सहयोग पुर्‍याउनुभएको थियो।
उद्धार गरी वीरगञ्जस्थित आश्रममा ल्याइसकेपछि उनको उचित हेरचाह सुरु गरिएको छ। आश्रमका अनुसार, सुरुमा उनको सरसफाइ तथा नुहाइधुवाइ गरिनेछ र त्यसलगत्तै उनको स्वास्थ्य अवस्था सुधारका लागि डा. भरत गोईको प्रत्यक्ष निगरानीमा नियमित औषधि उपचार प्रक्रिया अगाडि बढाइनेछ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.