Home » Blog » कांग्रेस जनकपुरको प्रतिज्ञा सभाको तयारी पूरा, एक लाख सहभागी हुने दाबी

कांग्रेस जनकपुरको प्रतिज्ञा सभाको तयारी पूरा, एक लाख सहभागी हुने दाबी

Ankushdaily
0 comment 10 views
जनकपुरधाम ।
नेपाली कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा फागुन ६ गते आयोजना गरिएको आसन्न प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते लक्षित नेपाली कांग्रेसको पहिलो ऐतिहासिक “प्रतिज्ञा सभा” को सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपाली कांग्रेस मधेस प्रदेश समिति सभापति कृष्णप्रसाद यादवले पत्रकार सम्मेलनमा बोल्दै सम्पूर्ण तयारी पूरा भएको जनाएका हुन् । उनले बुधबार हुने यस महत्वपूर्ण प्रतिज्ञा सभामा कांग्रेस केन्द्रीय सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए ।
मधेसको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यो प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रुपमा लिएको उनले बताए ।
नेपाली कांग्रेस र मधेसको सम्बन्ध इतिहासकै गहिरो धरातलमा उभिएको भन्दै उनले २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन हुँदै २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनसम्म मधेसका वीर सपूतहरूले नेपाली कांग्रेसको नेतृत्वमा भएका प्रत्येक लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।
मधेसको माटोले सधैँ प्रजातन्त्र, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको भन्दै उनले यो अवसरमा मधेसपुत्र दुर्गानन्द झा, नारायण मिश्र, महेन्द्रनारायण निधी लगायतका नेताहरुलाई स्मरण गरेको बताएका छन् ।
वमधेस आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेण्डाका रूपमा आत्मसात गरेको भन्दै उनले मधेसको विकास, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना तथा पूर्वाधार विस्तारका लागि कांग्रेस सधैं प्रतिबद्ध रहँदै आएको जानकारी दिए ।
उनले विज्ञप्तिमा ‘नेपाली कांग्रेसका सभापति गगनकुमार थापा स्वयं मधेससँग भावनात्मक र राजनीतिक रूपमा गहिरो सम्बन्ध राख्नुहुन्छ । उहाँ मधेसको जिल्ला सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवार बनेर मधेसको जनतासँग प्रत्यक्ष जोडिनुभएको छ । यो केवल चुनावी रणनीति मात्र नभई मधेस र राष्ट्रिय राजनीतिबीचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो । मधेसको विकास र सम्मान बिना राष्ट्रिय समृद्धि सम्भव छैन भन्ने विश्वासका साथ उहाँले मधेसको भूमिबाट प्रतिनिधित्व गर्न रोज्नुभएको हो’ भनेका छन् ।
आज मधेस केवल भौगोलिक क्षेत्र मात्र होइन, राष्ट्रिय अर्थतन्त्र, कृषि उत्पादन, सांस्कृतिक विविधता र सामाजिक समावेशिताको आधारस्तम्भ भएको चर्चा गर्दै सभापति यादवले विगतका वर्षहरूमा मधेसले अपेक्षित विकास र राज्यको पर्याप्त ध्यान पाउन सकेको भन्दै यही यथार्थलाई आत्मसात गर्दै नेपाली कांग्रेसले आफ्नो आगामी चुनावी घोषणा पत्रको रूपमा सार्वजनिक गर्न गइरहेको “प्रतिज्ञा पत्र” मधेसबाटै प्रारम्भ गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले भनेका छन्, ‘मधेसबाट प्रतिज्ञा पत्र सार्वजनिक गर्नुको अर्थ स्पष्ट छ—नेपाली कांग्रेस मधेसलाई केवल चुनावी भूगोलका रूपमा हेर्दैन, बरु परिवर्तनको प्रारम्भ बिन्दुका रूपमा लिन्छ । मधेसको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापारको विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट कार्ययोजनासहित कांग्रेस अगाडि बढ्नेछ ।’
प्रतिज्ञा सभामार्फत नेपाली कांग्रेसले जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना प्राथमिकता सार्वजनिक गर्ने उनले बताए । सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सेवा, संघीयताको प्रभावकारी कार्यान्वयन तथा प्रदेश र स्थानीय तहको सुदृढीकरणका विषयमा स्पष्ट धारणा प्रस्तुत गरिनेसमेत उनले बताए ।
विज्ञप्तिमा भनिएको छ, ‘आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा मधेसी जनताको पूर्ण साथ, सहयोग गरी रुख चिन्हमा मतदान गर्न पनि अपील गर्दछौँ । मधेसको इतिहासले नेपाली कांग्रेसलाई सधैं साथ दिएको छ । मधेसका किसान, मजदुर, व्यापारी, विद्यार्थी, बुद्धिजीवी तथा युवाहरूले प्रजातन्त्र र संविधानको रक्षाका लागि निरन्तर संघर्ष गरेका छन्। यही ऐतिहासिक योगदानप्रति सम्मान व्यक्त गर्दै हामी यो प्रतिज्ञा सभा मधेसबाट शुरू गर्दैछौँ ।’
सभामा एक लाखको संख्यामा सहभागी हुने दाबी गरिएको छ । यो सभा केवल नेताहरूको सम्बोधन सुन्ने कार्यक्रम नभएको बरु जनताको आवाज सुन्ने, जनतासँग प्रतिवद्धता व्यक्त गर्ने र भावी यात्राको खाका प्रस्तुत गर्ने साझा मञ्च भएको उल्लेख गरिएको छ । मधेसको गौरव, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्दै समृद्ध नेपाल निर्माण गर्ने दिशामा यो कार्यक्रम कोसेढुंगा सावित हुने दाबीसमेत गरिएको छ ।
कांग्रेस मधेस प्रदेश समितिले सम्पूर्ण शुभेच्छुक, लोकतन्त्रप्रेमी नागरिक, कांग्रेसका अग्रज, युवा, महिला दिदीबहिनीहरू तथा पार्टीका समर्पित कार्यकर्ताहरूलाई ऐतिहासिक प्रतिज्ञा सभामा अनिवार्य उपस्थित भई कार्यक्रमलाई सफल पार्न हार्दिक अनुरोधसमेत गरेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.