Home » Blog » उम्मेदवार छनोटमा आर्थिक चलखेलको आरोप लगाउँदै रास्वपा बागमती उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गरे

उम्मेदवार छनोटमा आर्थिक चलखेलको आरोप लगाउँदै रास्वपा बागमती उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गरे

Ankushdaily
0 comment 8 views
वीरगञ्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका छन्। पार्टी महामन्त्रीसमक्ष राजीनामा पत्र बुझाउँदै उनले नेतृत्वको कार्यशैली र आन्तरिक सुशासनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेर १० हजार ५७३ मत प्राप्त गरेका हुमागाईँले रास्वपा छाड्नुका पछाडि मुख्य सातवटा कारणहरू खुलाएका छन्।
आफ्नो राजीनामा पत्रमा उनले विशेषगरी उम्मेदवार छनोट प्रक्रियामा चरम आर्थिक चलखेल भएको गम्भीर आरोप लगाएका छन्। पार्टीको केन्द्रीय संरचना विस्तार, सदस्यता वितरण र आर्थिक व्यवस्थापनमा चरम अपारदर्शिता देखिएको उनको दाबी छ। वर्षौंदेखि पार्टी निर्माणमा समर्पित निष्ठावान् कार्यकर्ताहरूलाई पाखा लगाएर अन्य दलबाट भर्खरै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको भन्दै उनले नेतृत्वको कडा आलोचना गरेका छन्।
पार्टीले सुरुवाती चरणमा अघि सारेको ‘जान्नेलाई छान्ने’ मूल नारा व्यवहारमा लागु नभएको हुमागाईँको निष्कर्ष छ। योग्यता र क्षमताभन्दा पनि सस्तो लोकप्रियता खोज्ने, आफूलाई सामाजिक अभियन्ता बताउने र नेतृत्वको चाकरी गर्ने (गणेश प्रवृत्ति) व्यक्तिहरूलाई प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ प्राथमिकता दिइएको उनले उल्लेख गरेका छन्। स्वार्थका आधारमा अवसर वितरण गर्ने यस्तो विकृत अभ्यासले भोलिको संसद् अवसरवादीहरूको थलोमा परिणत हुने स्पष्ट संकेत देखिएको उनले राजीनामा पत्रमा औंल्याएका छन्।
पछिल्लो समय रास्वपाभित्र उम्मेदवार चयन प्रक्रिया र आर्थिक पारदर्शितालाई लिएर तीव्र असन्तुष्टि चुलिएको छ, जसका कारण पार्टी छाड्ने नेताहरूको संख्या बढ्दो क्रममा छ। हुमागाईँको राजीनामा आउनुअघि हिजो मात्रै रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा र नेतृ खेमकुमारी (उर्मिला) भुर्तेलले पनि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.