Home » Blog » सर्लाही–४ मा चुनावअघि नियोजित घटनाको जोखिम, सुरक्षा निकाय ‘हाइ अलर्ट’मा

सर्लाही–४ मा चुनावअघि नियोजित घटनाको जोखिम, सुरक्षा निकाय ‘हाइ अलर्ट’मा

Ankushdaily
0 comment 21 views

विरगंज ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। मतदान अगावै गम्भीर प्रकृतिका घटना हुनसक्ने विशेष सूचना प्राप्त भएपछि सुरक्षा निकायले उच्च सतर्कता अपनाएको हो। सुरक्षा स्रोतका अनुसार निर्वाचनको निष्पक्षता र शान्ति सुरक्षामा खलल पुग्न नदिन संवेदनशील क्षेत्रहरूमा गस्ती र निगरानी तीव्र पारिएको छ।
यस क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेशकुमार सिंहबीचको प्रतिस्पर्धाले ध्यानाकर्षण गराएको छ। २०७९ सालको निर्वाचनमा कांग्रेसबाट बागी उठेर विजयी भएका डा. सिंह यसपटक रवि लामिछाने नेतृत्वको रास्वपाबाट चुनावी मैदानमा उत्रिएका छन्। चुनाव जित्ने रणनीतिका साथ आक्रामक प्रचारमा जुटेका उनले झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह र आफूले नजिते परिणाम ‘नराम्रो’ हुने सन्देश मतदातामाझ पुर्‍याइरहेको बुझिएको छ।
सुरक्षा आकलन अनुसार, मतदानको एक–दुई दिनअघि (विशेषगरी मंगलबार वा बुधबार) मतदाताको सहानुभूति बटुल्न नियोजित रूपमा उम्मेदवारबाटै आफूमाथि नक्कली आक्रमणको प्रयास हुनसक्ने गम्भीर सूचना प्राप्त भएको छ। सीमापारिबाट पेशेवर व्यक्तिहरू भाडामा ल्याएर यस्तो घटना गराउन सक्ने वा उक्त योजना सफल नभए मतदानको दिन विभिन्न स्थानमा झडप गराउने रणनीति हुन सक्ने भन्दै सुरक्षा निकायहरू थप चनाखो बनेका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा संयन्त्रलाई पूर्ण रूपमा परिचालन गरेको छ।
चुनावी सरगर्मीसँगै डा. सिंहका विगतका विवादास्पद गतिविधि र उनीमाथि लागेका आरोपहरू पनि पुनः चर्चामा आएका छन्। विगतमा संसद भवनभित्रै कपडा खोलेर अमर्यादित रूपमा प्रस्तुत भएको, एनसेल प्रकरणमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पुत्री गंगा दाहालको संलग्नता रहेको दाबी गर्दै प्रमाण रहेको अभिव्यक्ति दिएको, र टीकापुर घटनामा भड्काउपूर्ण भूमिका निर्वाह गरेको जस्ता आरोपहरू उनीमाथि लाग्दै आएका छन्। यसका अतिरिक्त टिकट वितरणका क्रममा आर्थिक लाभ लिएको र व्यक्तिगत स्वार्थ पूर्तिका लागि जस्तोसुकै कदम चाल्न पछि नपर्ने भन्दै राजनीतिक वृत्तमा उनको आलोचना हुने गरेको छ। यी समग्र पृष्ठभूमि र वर्तमानको सुरक्षा चुनौतीका कारण सर्लाही–४ को चुनावी माहोल निकै संवेदनशील बनेको विश्लेषण गरिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.