22
विरगंज ।
एक्काइसौं शताब्दीको डिजिटल युगमा हातहातमा इन्टरनेट र मोबाइल पुगेसँगै मतदाताहरू निकै सचेत भइसकेका छन्। आजका मतदाता उम्मेदवारको एजेन्डा, विचार र घोषणापत्र पढेर मात्र आफ्नो अमूल्य मत कसलाई दिने भन्ने निर्णय गर्छन्।
तर, यसपटकको निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ को अवस्था भने निकै फरक र उदेकलाग्दो देखिएको छ। निर्वाचन आयोगले तोकेअनुसार आज फागुन १८ गते बेलुका ७ बजेपछि चुनावी प्रचारप्रसारको समय सकिएर मौन अवधि सुरु हुँदैछ। यस्तो अन्तिम समयसम्म आइपुग्दा पनि यस क्षेत्रका मुख्य प्रतिस्पर्धीमध्ये केवल एक जना उम्मेदवारले मात्र आफ्नो चुनावी घोषणापत्र मतदातामाझ ल्याएका छन्।
विगतका दुई निर्वाचनमा यसै क्षेत्रबाट विजयी भई हाल जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेर नेकपा एमालेबाट उम्मेदवार बनेका प्रदीप यादवले हालसम्म आफ्नो चुनावी भिजन सार्वजनिक गरेका छैनन्। त्यसैगरी, युवा पुस्तामाझ उदाएको ‘जेन–जी’ आन्दोलन र बालेन शाहको प्रधानमन्त्री पदको दाबेदारीले देशभर सिर्जना गरेको नयाँ राजनीतिक लहरका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तले पनि आफ्नो घोषणापत्र ल्याउन सकेका छैनन्। जसपा नेपालका तर्फबाट उम्मेदवार बनेका रामनरेश यादवले पनि आफ्नो कुनै लिखित योजना वा एजेन्डा जनतासामु प्रस्तुत गर्न सकेका छैनन्।
यस शून्यताका बीच नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल कुमार रुँगटाले भने आफ्नो स्पष्ट खाका अघि सारेका छन्। उनले गत फागुन १४ गते वीरगन्ज महानगरपालिका–१३ स्थित आफ्नो सम्पर्क कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी आगामी निर्वाचनका लागि ‘चुनावी प्रतिज्ञापत्र’ सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको ‘मेरो प्रतिज्ञा’ पत्रमा रुँगटाले यस क्षेत्रको समग्र विकास, सुशासन प्रवर्द्धन र दिगो नीतिगत सुधारप्रतिको आफ्नो प्रतिबद्धता स्पष्ट रूपमा व्यक्त गरेका छन्।
आफ्नो प्रतिज्ञापत्रमार्फत रुँगटाले पर्सा–१ का नागरिकको बढ्दो अपेक्षालाई सम्बोधन गर्दै विकास र राजनीतिक स्थायित्वको पक्षमा जनमत जुटाउने प्रयास गरेका छन्। एकातिर प्रविधिको पहुँचले मतदाताहरू उम्मेदवारका हरेक गतिविधि र एजेन्डाको सूक्ष्म विश्लेषण गरिरहेका छन् भने अर्कोतिर चुनाव प्रचारको अन्तिम घडीसम्म पनि प्रमुख दलका अन्य उम्मेदवारहरूले आफ्नो लिखित प्रतिबद्धता नै सार्वजनिक नगर्नुले यहाँको अवस्थालाई अर्थपूर्ण बनाएको छ।
आज साँझ ७ बजेपछि सुरु हुने मौन अवधिसँगै मतदाताहरूले यिनै यथार्थलाई आधार मानेर मतदानको दिन आफ्नो अन्तिम निर्णय लिनेछन्।

नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल कुमार रुंगटाको प्रतिज्ञापत्र पढ्नको लागि qr स्क्यान गर्नुहोस्