Home » Blog » ट्राफिक सुरक्षा र महिला हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

ट्राफिक सुरक्षा र महिला हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

Ankushdaily
0 comments 15 views
वीरगन्ज ।
पर्साको वीरगन्ज महानगरपालिका–१४ बहुवरीस्थित मदरसा तौहिदुल इस्लाम सलफियामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ट्राफिक दुर्घटना तथा महिला हिंसा न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। स्टार युथ क्लबका अध्यक्ष सम्साद अलीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा पर्साका ट्राफिक प्रमुख युवराज कटुवाल प्रमुख अतिथि र जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत महिला सेलकी प्रहरी निरीक्षक सोनी नेमाफुकी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। युवा अभियन्ता दिलीपराज कार्कीको संयोजनमा सम्पन्न कार्यक्रममा मदरसाका करिब १५० जना छात्रछात्रालाई प्रशिक्षण दिइएको थियो।
मुख्य सडकको छेउमा रहेका विद्यालयका विद्यार्थीहरू सडक वारपार गर्दा उच्च जोखिममा पर्ने कुरालाई मध्यनजर गर्दै ट्राफिक नियमसम्बन्धी अभिमुखीकरण गराइएको थियो। कार्यक्रममा प्रमुख अतिथि कटुवालले सडक नियमको पालना, मादक पदार्थ सेवन (मापसे) ले निम्त्याउने दुर्घटना, ट्राफिक चिह्नहरूको पहिचान र सडक लेनको प्रयोगलगायतका विषयमा विद्यार्थीहरूलाई प्रस्ट पार्नुभएको थियो। सडक सुरक्षाको ज्ञान विद्यालय तहबाटै दिँदा भविष्यमा दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
यसैगरी, समाजमा बढ्दै गएको दाइजो प्रथा र महिला हिंसाजस्ता विकृतिलाई लक्षित गर्दै कार्यक्रममा विशेष सचेतना प्रदान गरिएको थियो। प्रहरी निरीक्षक नेमाफुकीले ‘बालविवाह, जीवन तवाह’ भन्ने मूल नाराका साथ बालविवाह एक कानुनी अपराध भएको र बालबालिकामाथि हुने घरेलु हिंसाका विषयमा विद्यार्थीहरूलाई जानकारी गराउनुभयो। समाज रूपान्तरणका लागि विद्यार्थी वर्ग सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रम संयोजक कार्कीले यस्ता सचेतनामूलक अभियानलाई आगामी दिनमा अन्य विद्यालयहरूमा पनि निरन्तरता दिने उद्देश्य रहेको बताउनुभयो। त्यस्तै, कार्यक्रमका सभापति अलीले टोल र समाजलाई कुलतबाट जोगाउन छिट्टै लागूऔषधविरुद्धको सचेतना कार्यक्रम पनि आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा मदरसाका प्रधानाध्यापक अकबर हवारीलगायत विभिन्न समाजसेवी तथा युवा अभियन्ताहरूको सक्रिय उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरू