Home » Blog » प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

Ankushdaily
0 comments 7 views
काठमाडौँ ।
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कार्यकालकै पहिलो संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार आगामी बिहीबार दिउँसो ५ बजेका लागि बैठक तय गरिएको हो। गत चैत १३ गते सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री शाहले पहिलो पटक परिषद्को बैठक बोलाएका हुन्। सरकारले परिषद्का कुल ६ मध्ये ३ जना सदस्यले नै आवश्यक निर्णय लिन सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश जारी गरेपछिको यो पहिलो बैठक भएकाले पनि यसलाई निकै महत्वका साथ हेरिएको छ।
यस बैठकको मुख्य कार्यसूची लामो समयदेखि रिक्त रहेको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्नु रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अनिवार्य अवकाश पाएपछि सर्वोच्च अदालत हाल नेतृत्वविहीन अवस्थामा छ भने वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेकी छन्। यसका अतिरिक्त, निर्वाचन आयोग लगायत अन्य विभिन्न संवैधानिक निकायहरूमा रिक्त रहेका पदाधिकारीहरूको नियुक्ति सम्बन्धमा पनि बैठकमा महत्त्वपूर्ण छलफल र निर्णय हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने यस परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता सदस्य रहने संवैधानिक व्यवस्था छ।

सम्बन्धित पोस्टहरू