Home » Blog » क्यान्सरलाई जितेका शङ्कर श्रेष्ठको संस्मरण ‘क्यान्सरसँगका मेरा अनुभूति’ वीरगञ्जमा लोकार्पण

क्यान्सरलाई जितेका शङ्कर श्रेष्ठको संस्मरण ‘क्यान्सरसँगका मेरा अनुभूति’ वीरगञ्जमा लोकार्पण

Ankushdaily
0 comments 8 views
वीरगञ्ज।
वीरगञ्ज पब्लिक कलेजको आयोजनामा बिहीबार एक विशेष समारोहबीच क्यान्सर रोगलाई जितेका शङ्कर श्रेष्ठको संस्मरणात्मक पुस्तक ‘क्यान्सरसँगका मेरा अनुभूति : अ क्यान्सर सर्भाइभर मेमोयर’ (A Cancer Survivor Memoir) को लोकार्पण गरिएको छ। कलेजकै सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका लेखक श्रेष्ठले क्यान्सरसँगको आफ्नो संघर्ष, उपचारका क्रममा भोगेका शारीरिक तथा मानसिक कठिनाइ र पुनःप्राप्त जीवनप्रतिको आशालाई भावुक रूपमा प्रस्तुत गरेका थिए। वीरगञ्ज पब्लिक कलेजका पूर्व कोअर्डिनेटरसमेत रहेका श्रेष्ठलाई कार्यक्रममा सम्मानपत्र र खादा ओढाएर अभिनन्दन गरिएको थियो। क्यान्सरलाई केवल एउटा रोगका रूपमा नभई जीवन र जगत्‌लाई बुझ्ने महत्त्वपूर्ण मोडका रूपमा आफूले लिएको उनले बताए।
मधेश विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक अध्यक्ष प्रा. डा. दीपक शाक्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै उनले यो कृति व्यक्तिगत संस्मरण मात्र नभई समग्र समाजका लागि एक प्रेरणादायी दस्तावेज भएको टिप्पणी गरे। कठिन परिस्थितिमा पनि आत्मबल, धैर्य र सकारात्मक सोचका साथ अघि बढ्न सकिने सन्देश पुस्तकले दिएको उल्लेख गर्दै उनले यस्ता कृतिले गम्भीर रोगविरुद्ध जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कलेजका सहायक क्याम्पस प्रमुख डा. अरबिन्द श्रेष्ठले सञ्चालन गरेको उक्त समारोहमा लेखककी पत्नी सबिता श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन्। मन्तव्यकै क्रममा उनले “नलाग्ने रोग लागिसक्यो, अब तनावमुक्त (चिल) भएर यसको सामना गर्नुपर्छ” भन्दै बिरामीको मनोबल बढाउन परिवारको साथ र सकारात्मक सोच कति अपरिहार्य हुन्छ भन्ने कुरालाई मार्मिक ढंगले प्रस्ट्याएकी थिइन्।
समारोहमा मन्जिला श्रेष्ठ, कबिता मथेमा र आशा दिदीलगायतका क्यान्सर विजेताहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा मन्जिला श्रेष्ठसहित तीन जना क्यान्सर विजेताहरूले रोगलाई परास्त गर्दाका आफ्ना प्रेरणादायी अनुभवहरू सहभागीहरूसँग साझा गरेका थिए।
पुस्तक लोकार्पण कार्यक्रममा क्याम्पस प्रमुख डा. विनय श्रेष्ठ, प्रधानाध्यापक हरि रत्न तुलाधर, शिक्षक डा. बासु कर्ण, बिपिएस कलेजका डाइरेक्टर दीपक पटेल, सन्दीप कुशवाह तथा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक सदस्य एवं वीरगञ्ज पब्लिक कलेजका ब्रान्ड एम्बेसडर देवेश गुप्ता लगायत विभिन्न कलेजका प्राध्यापक, बुद्धिजीवी तथा समाजसेवीहरूको बाक्लो उपस्थिति थियो। उपस्थित सहभागीहरूले यस पुस्तकले बिरामीहरूलाई मानसिक रूपमा सशक्त बनाउन ठूलो मद्दत पुग्ने धारणा राखेका थिए।
क्यान्सर उपचारको कठिन यात्रा, परिवारको साथ र आत्मविश्वासलाई सुक्ष्म ढंगले समेटिएको यस पुस्तकको मूल्य ४ सय रुपैयाँ निर्धारण गरिएको छ। पुस्तक बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम क्यान्सर पीडितहरूकै उपचार तथा सहयोगार्थ खर्च गरिने घोषणा लेखक श्रेष्ठले गरेका छन्। उनको यस परोपकारी कदमलाई उपकुलपति डा. शाक्यलगायत उपस्थित सबैले अत्यन्तै मानवीय र उदाहरणीय कार्य भन्दै उच्च प्रशंसा गरेका थिए।

सम्बन्धित पोस्टहरू