Home » Blog » जनमतले लियो मधेस सरकारबाट समर्थन फिर्ता, आफ्नै दलका मन्त्री भने अनभिज्ञ

जनमतले लियो मधेस सरकारबाट समर्थन फिर्ता, आफ्नै दलका मन्त्री भने अनभिज्ञ

Ankushdaily
0 comment 10 views
विरगंज ।
जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहले हस्ताक्षर गरेको समर्थन फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता भइसकेको छ। प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद दाहालले पत्र प्राप्त भएको पुष्टि गर्दै कार्यालय समयको अन्त्यतिर पत्र आएकाले यस विषयमा औपचारिक विज्ञप्ति भने पछि जारी गरिने जानकारी दिएका छन्।
समर्थन फिर्ताको विषयलाई लिएर जनमत पार्टीभित्रै भने आन्तरिक समन्वयको अभाव देखिएको छ। प्रमुख सचेतक सिंहले समर्थन फिर्ताको पुष्टि गरिसकेको अवस्थामा पार्टीका संसदीय दलका नेता तथा वर्तमान अर्थमन्त्री महेश यादवले भने यस निर्णयबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन्। मधेस प्रदेशसभामा १२ जना सांसद रहेको जनमत पार्टी हाल मन्त्रिपरिषद्‌मा दुई मन्त्रालयसहित सहभागी छ। सरकारमा महेश यादवले अर्थ र बसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।
पछिल्लो केही सातादेखि सरकार परिवर्तनको चर्चा चलिरहँदा मुख्यमन्त्री कृष्णप्रसाद यादवले भने वर्तमान सत्ता समीकरण नफेरिने र सरकार स्थिर रहने दाबी गर्दै आएका थिए। यद्यपि, जनमत पार्टीको यस कदमले प्रदेशको राजनीतिमा नयाँ तरंग ल्याएको छ। यसअघि ‘जेनजी’ आन्दोलनका क्रममा तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले पार्टीको निर्देशनअनुसार फेसबुकमार्फत राजीनामाको घोषणा गरे पनि पछि राजीनामा दिन अस्वीकार गरेका थिए। त्यसपछि जनमत पार्टीले आफ्नै नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वको वर्तमान सरकारमा सहभागिता जनाएको थियो। यसैबीच, प्रदेशमा नेपाली कांग्रेसबाहेकका अन्य दलहरू मिलेर नयाँ सरकार गठन गर्ने विषयमा प्रारम्भिक सहमति जुटिसकेको राजनीतिक स्रोतले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.