Home » Blog » भारतको तेलंगाना राज्यमा ‘लु’ का कारण १६ जनाको मृत्यु

भारतको तेलंगाना राज्यमा ‘लु’ का कारण १६ जनाको मृत्यु

Ankushdaily
0 comments 12 views
काठमाडौँ ।
भारतको तेलंगाना राज्यमा अत्यधिक गर्मी र तातो हावाको लहर (लु) को चपेटमा परेर १६ जनाको मृत्यु भएको छ। राज्य सरकारले ‘हिटवेभ’ बाट ज्यान गुमाउने प्रत्येक व्यक्तिका परिवारलाई ४ लाख भारतीय रुपैयाँ राहत स्वरूप उपलब्ध गराउने घोषणा गरेको छ।
राज्यका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले शनिबार अधिकारीहरूसँग ‘हिटवेभ’ ले सिर्जना गरेको परिस्थितिबारे समीक्षा बैठक गरेपछि यसको पुष्टि गरेका हुन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री रेड्डीले जिल्ला प्रमुख (कलेक्टर) हरूबाट प्राप्त प्रतिवेदनका आधारमा मृतकहरूको तथ्याङ्क सार्वजनिक गरेका हुन्।
सबैभन्दा बढी प्रभावित जयशंकर भूपालपल्ली जिल्लामा सबैभन्दा धेरै ४ जनाको मृत्यु भएको छ। वारंगल अर्बन, करिमनगर र निजामाबाद जिल्लामा ३/३ जनाले ज्यान गुमाएका छन्। यस्तै जोगुलाम्बा गडवाल, रंगा रेड्डी र सूर्यापेट जिल्लामा १/१ जनाको मृत्यु भएको छ।
पछिल्ला केही दिनयता भारतका विभिन्न राज्यहरूमा तापक्रम उच्च विन्दुमा पुगेको छ, जसले गर्दा जनजीवन नराम्ररी प्रभावित भएको छ। तेलंगाना सरकारले नागरिकहरूलाई अत्यधिक गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।

सम्बन्धित पोस्टहरू