Home » Blog » बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन

Ankushdaily
0 comment 13 views
एजेन्सी ।
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । बंगलादेश नेशनलिस्ट पार्टीको मिडिया सेलले ८० वर्षको उमेरमा जियाको मंगलबार निधन भएको जनाएको छ ।
“बीएनपी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ बजे फज्रको नमाजको केही समयपछि निधन भयो,” बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ ।
डिसेम्बर २५ मा जियाका छोरा तारिक रहमान १७ वर्षपछि लण्डनबाट ढाका फर्केका थिए । खालिदा जिया केही महिनादेखि बिरामी थिइन् र ढाकाको एभरकेयर अस्पतालमा उपचार गराइरहेकी थिइन् । 
जिया चार दशकभन्दा बढी समयदेखि बंगलादेशी राजनीतिमा संलग्न थिइन् । आफ्ना पतिको हत्यापछि खालिदा जियाले बीएनपीको नेतृत्व सम्हालिन् ।
सन् १९८१ मा हत्या हुँदा जियाउर रहमान बंगलादेशका राष्ट्रपति थिए । खालिदा जिया बंगलादेशमा बहुदलीय लोकतन्त्रको समर्थक रहिआएकी छिन् ।
जिया सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनिन् । सन् १९९१ मा भएको चुनावमा बीएनपीले जित्यो । उनी सन् २००१ मा फेरि सत्तामा फर्किइन् र सन् २००६ सम्म प्रधानमन्त्रीको रूपमा सेवा गरिन् ।
बंगलादेशमा पछिल्ला तीन चुनावहरू बीएनपीले बहिष्कार गरेको छ । खालिदा जियाले शेख हसिना विरुद्धको सन् २०२४ को आन्दोलनलाई समर्थन गरेकी थिइन् । बीएनपी हाल बंगलादेशको सबैभन्दा ठूलो दल हो र अर्को वर्ष हुने चुनावमा यो सत्तामा आउन सक्ने बताइएको छ ।
शेख हसिना प्रधानमन्त्री हुँदा खालिदा जिया जेलमा थिइन् । उनका छोरा तारिक रहमानलाई पनि धेरै मुद्दामा दोषी ठहराइएको थियो तर मुहम्मद युनुसको अन्तरिम सरकारले खालिदा र उनका छोरालाई निर्दोष मुक्त गर्‍यो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.