Home » Blog » माओवादी नेतृत्वको सरकार इतिहासमै सफल सरकार – ऊर्जामन्त्री

माओवादी नेतृत्वको सरकार इतिहासमै सफल सरकार – ऊर्जामन्त्री

अंकुश दैनिक
0 comment 4 views

काठमाडौँ, २० जेठ । ऊर्जामन्त्री जनार्दन शर्माले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार इतिहासकै सफल सरकार भएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल ललितपुर शाखाले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले गरेका कामको जनतासम्म सही सूचना पुग्न नसक्दा स्थानीय तहको पहिलो चरणको निर्वाचनमा माओवादीको सोचेअनुसारको नतिजा आउन नसकेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले गरेको काम राम्ररी प्रचार हुन नसकेकाले चुनावमा चामल नबिकेर पिठो मात्रै विकेको भनेर भनिसक्नुभएको छ । त्यसैले अबका दिनमा पार्टी र सरकारले गरेका सही कामको सूचना प्रवाहमा बढी मेहनत गर्नुपर्ने देखिएको छ ।”जनताका पक्षमा सही काम गरेर देखाए पनि सूचना प्रवाह प्रभावकारी तवरले हुन नसक्दा पार्टीका पक्षमा जनलहर आउन नसकेको उहाँको कथन छ ।

पार्टीले जनताका पक्षमा जायज र सार्थक काम गरेको उल्लेख गर्दै उहाँले विद्युत्भार कटौतीको अन्त्य, उज्यालो नेपाल अभियान, राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति, २५ वर्षपछिको उच्च आर्थिक वृद्धि सफलताका उदाहरण रहेको बताउनुभयो ।

ऊर्जामन्त्री शर्माले आगामी दिनमा प्रचारप्रसारको कामलाई पनि व्यवस्थित तवरले अगाडि बढाउनुपर्नेमा जोड दिनुहुँदै प्रेस स्वतन्त्रतालाई स्थापित गर्न सबै सरोकार भएका निकाय क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

प्रेस सेन्टर ललितपुरले जिल्लामा क्रियाशील करिब ५० पत्रकारलाई विकास पत्रकारिताबारे प्रशिक्षण दिएको हो । सांसद योगेन्द्र घिसिङको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत पत्रकारलाई तालिम प्रदान गरिएको नेपाल पत्रकार महासङ्घ, ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा माओवादी केन्द्र ललितपुरको इन्चार्ज हरि दाहालले छोटो समयको तयारीका साथ निर्वाचनमा होमिदा जिल्लामा पार्टीको उपस्थिति कमजोर देखिएको बताउनुभयो ।

कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, उपाध्यक्ष ओम शर्मालगायत प्रशिक्षण दिनुभएको थियो । रासस

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.