Home » Blog » अन्तर्घातले २१ सिट गुमेको कांग्रेसको निष्कर्ष

अन्तर्घातले २१ सिट गुमेको कांग्रेसको निष्कर्ष

Ankushdaily
0 comment 13 views
विरगंज ।
नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा करिब २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोग्नुपरेको निष्कर्ष निकालेको छ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार ५ हजारभन्दा कम मतान्तरले पराजित भएका क्षेत्रहरूमा मुख्यतः आन्तरिक व्यवस्थापन र आपसी मतभिन्नता नै हारको प्रमुख कारक देखिएको छ। विशेषगरी ३ हजारदेखि ५ हजारसम्मको मतान्तर रहेका स्थानहरूमा आन्तरिक कलहसँगै निर्वाचन अभियान सञ्चालनमा समेत कमजोरी देखिएको पार्टीको ठहर छ। ५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरले गुमेका क्षेत्रहरूमा भने अन्तर्घातसँगै विपक्षीको प्रतिकूल ‘न्यारेटिभ’ चिर्न नसक्नु र फितलो चुनावी क्याम्पेनले पार्टीलाई रक्षात्मक बनाएको विश्लेषण गरिएको छ। केही क्षेत्रमा संगठनात्मक संरचना मात्र नभई कांग्रेसप्रतिको जनविश्वासमै ह्रास आएको समीक्षा बैठकमा गरिएको छ।
बैठकमा पार्टीको क्रियाशील सदस्य संख्यामा भएको वृद्धि र प्राप्त मतको अनुपातबीच देखिएको असन्तुलनलाई अर्को गम्भीर विषयका रूपमा उठाइएको छ। ९ औँ महाधिवेशनमा करिब १ लाखको हाराहारीमा रहेको सदस्य संख्या १४ औँ महाधिवेशनसम्म आइपुग्दा बढेर ८ लाख ७० हजार पुगेको भए पनि पार्टीले समग्रमा १७ लाख ५९ हजार मात्र मत प्राप्त गर्नुलाई प्रवक्ता चालिसेले चिन्ताजनक बताउनुभएको छ। पार्टीको सांगठनिक आधार विस्तार हुँदै जाने तर लोकप्रिय मत भने सोही अनुपातमा नबढ्नुले संगठन र आम मतदाताबीचको सम्बन्धमा खाडल रहेको संकेत गरेको बैठकको निष्कर्ष छ। यस विषयमा गम्भीर आत्मसमीक्षा गर्दै आगामी दिनमा मतदाताको विश्वास पुनःआर्जन गर्ने सन्दर्भमा विस्तृत छलफल भइरहेको छ।
जारी केन्द्रीय समितिको बैठक मुख्यतया दुई महत्त्वपूर्ण एजेन्डा निर्वाचनको निर्मम समीक्षा र सभापतिको राजीनामा सम्बन्धी मागमा केन्द्रित छ। पार्टीभित्र देखिएका यी चुनौतीहरूलाई चिर्दै कांग्रेसलाई पुनः सशक्त र गतिशील बनाएर जनतामाझ लैजाने गरी नयाँ कार्यदिशा तय गर्ने तयारी भइरहेको छ। नेताहरूले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्दै आगामी निर्वाचनहरूमा उत्साहजनक नतिजा ल्याउन साङ्गठनिक सुदृढीकरण र भावनात्मक एकतामा जोड दिएका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.