Home » Blog » सिर्सिया प्रदूषणदेखि क्यासिनो बेथितिसम्म: सांसद पन्तद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

सिर्सिया प्रदूषणदेखि क्यासिनो बेथितिसम्म: सांसद पन्तद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

Ankushdaily
0 comment 29 views
विरगंज ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह र मधेस प्रदेशका सांसदहरूबीच विशेष भेटघाट सम्पन्न भएको छ। सो अवसरमा पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले आफ्नो निर्वाचन क्षेत्र र वीरगन्जका विद्यमान गम्भीर समस्याहरूबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो। भेटवार्तामा श्रम मन्त्री दीपक साह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह लगायत मधेस प्रदेशका अन्य जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। छलफलका क्रममा सांसद पन्तले सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रणका लागि एक अधिकारसम्पन्न समिति गठन गरी निश्चित समयसीमाभित्र समस्या समाधान गर्न सरकारसँग जोडदार माग गर्नुभयो। उहाँले किसानहरूले बाली लगाउने समयमा पर्याप्त मल प्राप्त गर्ने सुनिश्चितता हुनुपर्ने विषयलाई प्रमुखताका साथ उठाउनुभयो।
सांसद पन्तले वीरगन्जका क्यासिनोहरूमा नेपाली नागरिकलाई अवैध रूपमा प्रवेश गराउने गरिएको र यसबाट धेरै स्थानीय परिवारको बिचल्ली हुँदा समेत स्थानीय प्रहरी प्रशासन मुकदर्शक बनेको भन्दै कडा आपत्ति जनाउनुभयो। साथै, वीरगन्ज महानगरपालिकाले विभिन्न स्थानमा ‘ढाट’ राखेर गरिरहेको अवैध असुलीको विषयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुख (एसपी) ले एकअर्कालाई जिम्मेवारी पन्छाउने गरेको प्रसङ्ग उल्लेख गर्दै पन्तले प्रशासनिक जवाफदेहिताको अभावबारे प्रधानमन्त्रीलाई अवगत गराउनुभयो।
सांसदका गुनासाहरूलाई गम्भीरतापूर्वक सुन्दै प्रधानमन्त्री बालेन्द्र शाहले तत्कालै प्रहरी महानिरीक्षक र गृह सचिवलाई यस विषयमा आवश्यक निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले जनप्रतिनिधिले उठाएका जायज र जनसरोकारका विषयलाई जिल्लास्थित प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले बेवास्ता गर्न नमिल्ने स्पष्ट पार्नुभयो। उहाँले स्थानीय प्रशासनलाई थप जिम्मेवार बनाउन र उठाइएका समस्याहरूको शीघ्र समाधान खोज्न सरकार तत्पर रहेको विश्वास दिलाउनुभयो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.