काठमाडौं । सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो । प्रतिनिधिसभाले पारित गर्नुअघि विधेयकमाथि कानुन समितिमा दफाबार छलफल भएको थियो ।
गत २४ असोजमा समितिले पारित गरेको ९ बुँदे प्रतिवेदनलाई समेत प्रतिनिधिसभाले विधेयकको अंग बनाएको छ ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४, पारस्पारिक कानुनी सहायता ऐन २०७०, सङ्गठित अपराध निवारण ऐन २०७०, विद्युत् नियमन आयोग ऐन २०७४, सहकारी ऐन २०७४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ र बीमा ऐन २०७९ मा संशोधन गर्न लागिएको छ । मुलुकी अपराध संहिता २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा पनि विधेयकमार्फत संशोधन गरिएको छ ।
प्रतिनिधि सभाको अर्को बैठक २०८० फागुन ६ गते बिहान ११ बजे बस्नेछ । उक्त बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गरिने पनि सभामुख घिमिरेले बुधबारको बैठकमार्फत जानकारी गराए ।