वीरगंज |
राम कुमार महाबिर प्रसाद केडिया आँखा अस्पतालले स्वर्ण ५० औं वर्ष प्रवेश समारोह मनाएको छ।
अस्पतालको सभाहलमा आयोजित समारोहको उद्घाटन समाजसेवी एवं उद्योगी मुरलीधर रूँगटाले गर्नुभएको थियो । कार्यक्रममा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले अस्पतालले ५० वर्ष प्रवेश गरेकोमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेश केडियाको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका वरिष्ठ प्रशासक प्रकाशकुमार वर्माले ४९ वर्षको उपलब्धिबारे चर्चा गर्नुभएको थियो भने नेपाल नेत्र ज्योति सङ्घ पर्साका सभापति भगवतीप्रसाद चौधरी, परमेश्वरीदेवी केडिया, डा सरिता यादव, वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार केडिया, रमेश अग्रवाल, सुनील केडियालगायतको सहभागिता थियो ।
अस्पतालले हालसम्म २३ लाख व्यक्तिको आँखा जाँच र साढे पाँच लाख आँखाको शल्यक्रिया गरेको जनाएको थियो । सो अवसरमा अस्पतालका नेत्र विशेषज्ञ डा गोविन्द गुरुङ, अप्थालमिक असिस्टेन्ट लालबाबू पटेल, आई वर्कर राजेशबहादुर अधिकारीलाई सम्मानित गरिएको थियो ।