Home » Blog » भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन

Ankushdaily
0 comment 6 views
वीरगञ्ज ।
भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । बिहीबार राति ९:५१ बजे ९२ वर्षको उमेरमा सिंहको निधन भएको हो ।
बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि सिंहलाई दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो । पूर्वप्रधानमन्त्री सिंहलाई अस्पताल भर्ना गरिएलगत्तै कर्नाटकको बेलगावीमा जारी कांग्रेस कार्यसमिति बैठक रद्द गरिएको थियो ।
प्रख्यात अर्थशास्त्री र राजनीतिज्ञ सिंहलाई उनको स्वास्थ्य बिग्रिएपछि बिहीबार साँझ दिल्लीस्थित एम्समा भर्ना गरिएको थियो। सिंह स्वास्थ्यका कारण हालैका वर्षहरूमा राजनीतिबाट टाढा रहेका थिए।
सन् २०२४ सुरुदेखि नै उनको स्वास्थ्य राम्रो थिएन। उनको अन्तिम सार्वजनिक उपस्थिति जनवरी २०२४ मा उनकी छोरीको पुस्तक विमोचनमा भएको थियो।
उनी अप्रिल २०२४ मा राज्यसभाबाट सेवानिवृत्त भएका थिए।
सन् २००४ देखि २०१४ सम्म काङ्ग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) अन्तर्गत गठबन्धन सरकारको नेतृत्व गर्दै मनमोहन सिंह लगातार दुई कार्यकाल प्रधानमन्त्री बनेका थिए। उनले सन् १९९१ मा पिभी नरसिंहा राव सरकारमा अर्थमन्त्रीका रूपमा भारतको आर्थिक उदारीकरणलाई अघि बढाएका थिए।
उनले भारतका लागि दशकौँको आणविक अलगावको अन्त्य गर्दै ऐतिहासिक भारत-अमेरिका असैन्य परमाणु सम्झौताका लागि वार्ता पनि गरेका थिए। यद्यपि, उनको कार्यकाल विवाद र भ्रष्टाचारबाट मुक्त रहेन।
उनले सार्वजनिक सेवामा आउनुअघि पञ्जाब विश्वविद्यालय र दिल्ली स्कुल अफ इकोनोमिक्समा प्राध्यापकको रूपमा काम गरेका थिए। सिंहले भारतको मुख्य आर्थिक सल्लाहकारसहित प्रमुख पदहरू समेत सम्हालेका थिए।
उनी सन् १९८२ देखि १९८५ सम्म भारतीय रिजर्भ ब्याङ्कका गभर्नर थिए। उनले योजना आयोगको उपाध्यक्षका रूपमा पनि काम गरेका थिए।
सिंहको जन्म २६ सेप्टेम्बर, १९३२ मा ब्रिटिस भारतको पञ्जाब प्रान्तको गह गाउँमा भएको थियो, जुन अहिले पाकिस्तानमा छ। सन् १९४७ मा भारतको विभाजनपछि उनको परिवार भारत बसाइँ सरेको थियो। सिंहले पञ्जाब विश्वविद्यालय, चण्डीगढबाट अर्थशास्त्रमा प्रथम श्रेणीको डिग्री प्राप्त गर्दै शैक्षिक रूपमा उत्कृष्ट प्रदर्शन गरे। पछि उनले क्याम्ब्रिज विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गरे, सन् १९५७ मा अर्थशास्त्रमा डिग्री प्राप्त गरे र सन् १९६२  मा अक्सफोर्ड विश्वविद्यालयबाट डीफिल प्राप्त गरेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.