Home » Blog » जसपाएमालेको पार्टी कार्यालय ?

जसपाएमालेको पार्टी कार्यालय ?

Ankushdaily
0 comment 392 views

(स्तम्भकार कुमार रुपाखेती)

एउटा वीरगञ्जवासीको अचम्मको प्रश्नले मेरो दिमाग चक्करायो। भिडभाडबाट अलि टाढा बसेर गहवामाईको डोली यात्रा नियाली रहेको थिएँ। डोली यात्राको भिडभाड, कोलाहल, झण्डामुण्डासहितको रथ अगाडि बढिसकेको थियो। त्यसपछि एक जना ग्रामीणले पसिना पुछ्दै मलाई – “जसपाएमाले के अफिस कहाँ बा?” भनेर सोध्दा मेरो दिमाग चक्करायो।
मैले उनलाई पुनः सोधेँ – “केकर अफिस?”
उसले गम्छाले पसिना पुछ्दै त्यही प्रश्न दोहोर्यायो – “जसपाएमालेके अफिस कहाँ बा?”
मैले भोजपुरीमै भनेँ – “ए मर्दे, जसपाएमाले एक नामके ना कौनो अफिस बा, ना ई नामके कौनो राजनैतिक दल बा। भकुवाइल बाड़ ? कि पियक्कड हउवे ? जे सबरे सबेरे हमार दिमाग चाटतार ?”
बिचरा त्यो सोझो गाउँलेले त अंकुश दैनिकको कोठा नं. ३१४ पढेको रहेछ। अनि राजेशमान र विजय सरावगीको भेटपछि उसको दिमागमा ‘ज.स.पा. र एमाले’ एकीकृत भएर जसपाएमाले बनेको भन्ने भ्रम परेको रहेछ।
सफाइ दिँदै मैले उसलाई भनिदिएँ – विगतमा सरावगी र राजेशमान दुबै ज.स.पा. (नेपाल) उपेन्द्र यादवका उत्पादन थिए । उछलकुदमा माहिर सरावगी र राजेशमान कहिले ओलीको पोल्टामा खेल्ने, कहिले उपेन्द्रको काखमा रमाउने गरेका हुन्। तर उपेन्द्र यादवको ज.स.पा. (नेपाल) ले मेयरमा जिताएर दुबैको कायापलट गरिदियो। अहिले राजेशमान ज.स.पा. मा छन् भने सरावगी एमालेमा छन् ।
‘एक अनार, सौ बिमारझैँ’ दुबैलाई महानगरको मेयरमा उम्मेदवारी दिनु छ। सरावगी र राजेशमान एक हुन सक्छन्। उनीहरूबीच व्यक्तिगत एकता भएको होला। तर ज.स.पा. र एमाले छुट्टाछुट्टै दल हुन्।
ज.स.पा.को कार्यालय कता छ भन्ने कुरा प्रदीप यादव र राजेशमानलाई सोध्नु। एमालेको कार्यालय खोजेको हो भने ‘पावरहाउस’मा सरावगी निवास खोज्दै जाऊ भनेर बताएँ ।
नेपालीमा एउटा उखान छ – “अर्थ न बर्थ, गोविन्द गाई।” आजकल पार्टी एकता भन्दा छोटे नेताहरू आफ्ना स्वार्थको एकता गर्न चाहन्छन्, जसमा सम्बन्धित पार्टीलाई कुनै जानकारी हुँदैन। चुनावी सरगर्मीले भकुवाएका नेताहरू पार्टी हकहित विपरीत यस्ता प्रचारमुखी, गुपचुप भेटघाट गरिरहन्छन्। सोझा जनता रणभुल्लामा परिरहन्छन्।
ज.स.पा. (नेपाल) उपेन्द्र यादवको कार्यालय पानीटंकी अगाडि छ, त्योचाहिँ मलाई थाहा छ। नेपाली कांग्रेस सबैभन्दा पुरानो राजनीतिक दल हो, कांग्रेसको कार्यालय कहाँ छ, सबैलाई थाहा छ। अस्ती–अस्ती त एमाले पार्टी कार्यालय मनमोहननगर, सिर्सिया तिर छ भन्थे, तर भनिन्छ – अचेल सुनसान रहन्छ। राजेशमानहरूको पार्टी कार्यालय त मैले देखेकै छैन। बरु दरबार साहिबको कार्यालय राजेशमानको घरतिर छ।
चुनाव अगाडि वर्षाति भ्यागुताझैँ स्थानीय नेताहरू उछलकुद गर्दै पार्टी फेरबदल गरिरहन्छन्। छोटो समयमै विमल श्रीवास्तव, विजय सरावगी, राजेशमानहरू घाट–घाटको पानी पिउँदै यताउता छलाङ मारिरहेको पाइन्छ। कांग्रेसले टिकट नदिए पनि माछा छापले प्रसिद्ध अजय द्विवेदी बरु यता–उता नगरी, हलचल नगरी बसेको देखिन्छ।
यसरी टिकट नपाउँदा पनि हलचल नगरी बस्ने नेता यहाँ कमै पाइन्छन्। केही नेताहरूलाई २०८४ को स्थानीय निर्वाचनको “जोड़ का झटका धीरे से” लाग्न थालिसकेको छ। छलाङ लगाउने, दुश्मन–दोस्त र दोस्त–दुश्मन प्रवृत्तिका कारण सोझा–साझा जनता भ्रमवश ‘जसपा–एमालेको पार्टी कार्यालय’ खोज्दै हिँड्छन्।
वीरगञ्जमा अघिल्लो निर्वाचनमा भद्रगोल किसिमले, अनमेल तरिकाबाट भएका पार्टी एकता र उम्मेदवारहरूको चयनले समेत अन्योल थपेको छ। पर्सा क्षेत्र नं. १ र महानगरमा कट्टर रुख छापले ‘रुख चिन्ह’मा उठेको अर्को दलको उम्मेदवारलाई भोट दिन हिच्किचाएका थिए।
तर भनिन्छ, आफूलाई मन नपर्ने राजेशमानलाई मैले होटलमा गएर भेट्ने कुनै तुक छैन। वर्तमान मेयरलाई भेटेर मलाई राजनीतिक फाइदा के छ र? पूर्व–मेयरले गुनासो गरेको कुरा समेत चर्चामा छ। राम जाने, यिनको रामकहानी कस्तो हो। तर “तू डाल–डाल, मै पात–पात” यिनको विशेषता हो।

साभार:- अंकुश दैनिक पत्रिकाबाट

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.