Home » Blog » गल्ली सानो, घर ठूलो

गल्ली सानो, घर ठूलो

Ankushdaily
0 comment 25 views

(स्तम्भकार कुमार रुपाखेती)

श्रीपुर, मुर्लीबाट नेपाल आयल निगम वाईपास छिर्ने सडक निकै साँघुरो छ । प्राकृतिक आफत, विपत, आगलागीजस्ता घटना हुँदा त्यहाँ दमकल छिर्न सक्दैन । यो सबै देखेर मेयर राजेशमान भाईले त्यो सडक फराकिलो होस्, त्यहाँका बासिन्दालाई आते–जाते सहज होस् भनेर पटक–पटक बाटो फराकिलो गर्न खोजे र असफल भए ।

तराईतिर आफ्नो नम्बरी जग्गा सबै हाफेर घर टहरा बनाउने अनि सडक, नाला च्यापेर सिँढी, झ्यालको टप आदि बनाउनाले बाटो साँघुरो हुने तथा आफत विपतका बेला दमकल, एम्बुलेन्स छिर्न नसक्दा अकल्पनीय कुनै अनहोनी घटना घटछ । यस्तो मामलामा राजेशमानको सोच मलाई बहुमूल्य जनहितको सोच लाग्दछ । तर कहिलेकाहीँ मेयर साहेबको तदारुकता मलाई “दिये तले अँधेरा” जस्तो फिल हुन्छ । अब म मेयर साहेबकै घर निवासको कुरा गर्छु । श्रीपुर, मुर्लीको बाटो फराकिलो गर्ने बारे सिरियस मेयर साहेब आफ्नै घरको बाटोबारे किन उदासीन ?

राजेश भाईको घर जाने पाँचवटा बाटो छन् । जैन धर्मशाला भएर, भगवती टोल भएर, मालपोतको बाटो भएर, छपकैयाको बाटोबाट र साईं बाबा मन्दिरको बाटो भएर । मेयर साहेबको घरसम्म पुग्ने यी सबै बाटोबाट मेयर साहेबको निवास, घरसम्म दमकल (वारुणयन्त्र) पुग्न सक्दैन भन्ने मेरो ठोकुवा छ । जब मेयर साहेबकै घरसम्म आफत विपतका संवेदनशील घडीमा दमकल पुग्न सक्दैन भने मुर्लीको बाटो साँघुरो भयो भनेर राजेशमानले किन मथिंगल खियाएको, किन टाउको दुखाएको होला । हामी महानगरवासीलाई हाम्रो नगरपिताको घर जाने बाटो साँघुरो छ, फराकिलो होस् भन्ने चाहना छ । तर त्यागी, बेचारा नगरपितालाई मुर्लीको साँघुरो गल्लीको चिन्ता छ । तर हामी सबै मिलेर एकै स्वरमा राजेशमानको घर निवास जाने साँघुरो गल्ली फराकिलो गर्ने सुझाव मेयर साहेबसमक्ष राखौँ ।

मेयर साहेबको आलिशान महलहरुसम्म पुग्ने बाटो दमकल छिर्ने योग्य होस् भन्ने धेरैको चाहना छ । मेरो पनि राजेश भाईलाई सुझाव छ—राजेश भाई, पदमा छौ, मौकामा चौका हान, मुर्लीको होइन आफ्नो निवासतिरको बाटो वारुणयन्त्र सहजै आवतजावत गर्ने बनाउ । भाई, पद गएपछि “कौन पूछे खेसरी के दाल”। सुधार आफ्नैबाट गर्नु पर्छ भनेर विद्वानहरू भन्छन् । त्यसैले सडक सुधारको प्रक्रिया राजेशमानको घर पुग्ने साँघुरो गल्लीबाट श्रीगणेश गरे कस्तो होला भन्ने विचार यहाँहरूलाई कस्तो लाग्यो ? राम्रो कि नराम्रो । काम विशेषले मेयर साहेबको टोल, निवास पुग्ने सबैलाई त्यहाँको सकरी गल्ली थाहा होला । म पनि धेरै अघि एकपल्ट कुनै काम विशेषले राजेश भाईको घर पुगेको थिएँ । त्यही बेला दमकल लगायतका ठूला सवारी साधन मेयर साहेबको निवाससम्म कुनै पनि हालतमा पुग्न नसक्ने विहंगम दृश्य देखेको थिएँ ।

अन्यथा नठाने, मेरो यो सानो स्तम्भ मेयर साहेबको हितमा लेखेको छु ।किनकि अस्ति एकजनाले मेयर साहेबको घर देखाउँदै- साँघुरो, सानो गल्लीमा ठूलो मान्छेको ठूलो घर भन्यो । मलाई लाज लाग्यो भाई ।
हाम्रो सुरक्षाबारे सोच्ने मेयर साहेबको सुरक्षाबारे सोच्नु हाम्रो पनि दायित्व हो ।

साभार:- अंकुश दैनिक पत्रिकाबाट

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.