Home » Blog » क–कसलाई लैजान्छ यसपालिको हैजा ?

क–कसलाई लैजान्छ यसपालिको हैजा ?

Ankushdaily
0 comment 199 views

(स्तम्भकार कुमार रुपाखेती)

अन्य पालिकाहरूले आफ्नो उपलब्धि देखाउन, विकास देखाउन पर्यटकहरूलाई आफ्नै पालिकामा आउन आग्रह गर्छन्। तर म भने हैजा र झाडा–पखालाको प्रकोप र महामारी हेर्न वीरगंज महानगरपालिका आउन आगन्तुकहरूलाई सादर निमन्त्रण गर्दछु।
हैजाको प्रकोपले वीरगंज महानगरलाई दूषित, प्रदूषित र फोहरी शहर भएको प्रमाणित गरिसकेको छ। दूषित खानेपानी वितरण गरेर, सडे–गलेका खाना खुवाएर विकासको भोपू बजाउनेहरूको पोल खुलेको छ। दूरदराजका ग्रामीण क्षेत्रमा समेत लोप भइसकेको हैजा एकाएक वीरगंजमा महामारीको रूपमा प्रकट हुनु, महानगरको सरसफाइ, खानेपानीको अवस्था र अन्य चिकित्सकीय अवस्थाको दर्दनाक अंदरुनि कहानी ब्यान गरेको छ।
वीरगंजमा अहिले हैजा, झाडा–पखालाका बिरामी अत्यासलाग्दो रूपमा बढेपछि देखावटी रूपमा अस्पताल चहार्ने, सहानुभूति बटुल्ने र छुटभैया नेताहरूको चर्तिकलाले अझै विजोग बढाएको छ। हैजाका बिरामीलाई छुटभैया होइन, कुशल चिकित्सक र परामर्शदाताको आवश्यकता छ। रोगले महामारीको रूप धारण गर्नु अघि नेताज्यूहरू कुन दुलोमा थिए? किन शुद्धपेय जलको सट्टा ट्याङ्करबाट प्रदूषित पानीलाई खानेपानी भन्दै वितरण गरियो?
अस्ती विदाई कार्यक्रममा पर्साका पूर्व सिडिओले थुप्रै गतिला कुरा गरे। दुई जिब्रे प्रवृत्तिका मान्छे र गैरजिम्मेवार नेताहरूका कारण वीरगंज आहत र थिलथिलो भएको छ। वीरगंज महानगरपालिका त आज “वीरगंज उधारोपालिका” मा परिणत भइसकेको छ।
“आज नगद, कल उधार” भन्दैछन महानगरपालिकालाई। हरा भरा, सफा, स्वस्थ, वैभवशाली वीरगंज हैजाले आक्रान्त भएपछि “दूधको साझी विरालो” बन्नेहरूले आफ्नो पल्लु झार्दै एकअर्कालाई दोषी देखाउन र आफू पानी माथिको ओभानो बन्ने तरखरमा सक्रिय छन् भने हैजा प्रभावितहरू “भगवान भरोसे” छन्।
स्वच्छ र हराभरा शहरमा हैजा फैलिन्छ र ?  हराभरा र स्वच्छ स्वस्थ विरगंज भ्रम र ढकोसला मात्र रहेछ । गन्दगी, प्रदूषण, मिलावट र दूषित पानी नै हैजाका जन्मदाता हो। समृद्ध, शिक्षित र विकसित क्षेत्रमा समेत हैजाको महामारी फैलिनु चिन्ताजनक विषय हो। अनि, एमाले झैँ उग्र बनेर “यसपालिको हैजा… फलानालाई लैजा” भन्ने अभद्र नारा लगाउन पनि सकिदैन।
सर्वप्रथम त यो महानगरमा किन र कसरी हैजाले महामारीको रूप लियो भन्ने पत्ता लगाउनु जरुरी छ। नानीदेखि लागेको बानीवालाहरू त यो महामारीमा समेत राजनीतिक गोटी सेक्न तल्लीन छन्। यता हैजा फैलियो, उता खानेपानी मन्त्रीको कुर्सी डाँवाडोल छ। वीरगंज धनाढ्यहरूको बस्ती पनि हो। महानगरपालिकाकै खटन–पटनमा यहाँ धार्मिक कार्य, यात्रा–जात्रा भइरहन्छ । अस्ती रथयात्रा, भीमसेन जात्रा भयो, अहिले हैजा जात्रा डरलाग्दो रूपमा अगाडि बढेको छ।
जिम्मेवार निकायहरूले हैजाको प्रभावकारी रोकथाम गर्न ढिलो भइसकेका छ। घातक रोगहरूको निदान गर्ने यहाँका अस्पतालहरू आफैं सिकिस्त देखिन्छन् ।
कतै अस्पताल डुङ्डुङ्ती गन्हाउँछ, कतै महँगाई, त कतै औषधि नै छैन। नेताजीहरू मिटिङ र भाषणबाजीमा सीमित छन्। भाषण र मिटिङले हैजा भाग्दैन।
हैजा निर्मूल गर्न भगवान भरोसा होइन, हामी स्वयं सक्रिय र चेतनशील बन्नुपर्छ।
हैजा हेर्न जाओ वीरगंज ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.