Home » Blog » विरगंजमा हैजा, जापानमा मेयर

विरगंजमा हैजा, जापानमा मेयर

Ankushdaily
0 comment 146 views

(स्तम्भकार कुमार रुपाखेती)

विरगंजमा हैजा डरलाग्दो किसिमले चम्कीएको छ। हैजा पिडितहरूले अस्पताल भरीभराउ छन्। पिडितहरू स्थानीय सरकारको सहयोगको मुख ताक्न विवश छन्। तर वीरगंज महानगरका मेयर जापान यात्रामा छन्। मेयर त्यहाँ नगई नहुने कार्यक्रम पनि होइन। उनको उपस्थिति वीरगंजमै हुनु पर्ने थियो। तर मेयरको रोजाइमा जापान परेछ । धरानका मेयरले हर्क लेबर (मजदुर) स्तरमा ढुङ्गा बोकेको जनतासँग हातेमालो  गरेको,पत्थर फोडेको, हथौडा बोकेको, सडकमा खटिरहेको सहजै सबैले देखेकै हो। हैजा सर्ने डरले हाम्रा मेयर राजेशमानचाहिँ लुसुक्क जापान टाँप ठोकेछन् । भनिन्छ दुःखमा मानिसको पहिचान हुन्छ रे। तर हाम्रा साहेबले त हैजा पिडितलाई लावारिस बनाउँदै जापानको मजा लिइरहेका छन्। एसियाकै विकसित र घुम्न लायक देश हो जापान। अनि मेयरले यस्तो मौका किन छोड्ने?
हैजाका विरामीलाई अस्पताल र डाक्टरले हेर्ने हो। पिडितहरूले ऋण, कर्जा, पैचो गरेर औषधिमुलो गर्ने हो। यस्तो विकराल र डरलाग्दो रोगमा बिचरा मेयर र स्थानीय सरकारले किन चासो राख्ने। अनि अहिले निर्वाचनको मौसम पनि होइन। निर्वाचनको समयमा हैजा चम्किएको भए पो मेयर साहेबहरू साखुल्ले बन्दै सक्रिय हुन्थे। म त भन्छु, यस्ता डरलाग्दो महामारी र रोगहरू निर्वाचनको बेलामा फैलिए पो निमुखा, गरिब जनताको घरदैलोमा औषधि, फलफूलको टोकरी बोकेर नेताजीहरू उपस्थित हुन्थे। वेला न कुबेला फैलिएको यो रोगको उचित उपचार जनताले आफैं गर्ने हो। अनि हैजा सरुवा रोग पनि हो, कठै विचरा स्थानीय नेतालाई पनि यो सरुवा रोगले गाँजे पछि पर्दैन त फसाद । अनि जापान जान छाडेर हैजा नियन्त्रण गर्न बस्दा विचरा मेयरको अवस्था त “वाह, वर्षमा पोई आयो, मै राँडीलाई ज्वरो आयो” जस्तो हुन्थेन र। कहाँ जापानी रमझमको मजा, कहाँ हैजा पिडितको कुरुवा। आकाश पातालको फरक छ नि। अनि मेयर भनेर जापान पुग्नुको मजा नै कुछ और छ।
भन्नेहरू त भन्छन्, वीरगंजको मेयरले महानगरको सबै क्षेत्र घुम्ने फुर्सद नपाए पनि जापान जाने फुर्सद मिलाएका छन्। यस मामलामा मेयरलाई “क्या बात, स्याबास” भन्नै पर्छ। भोलि पर्सी जापानबाट फर्किएपछि विचरा राजेशमानले आफ्नो कार्यकक्षमा चेलाहरू भेला गरेर जापानी कथा–कहानी सुनाइहाल्छन्। “एक टिकटमे दो मजा” भनेकै यही हो। उता जापानमा मोजमस्ती, यता महानगरका हैजा पिडितको गुनासो, उजुरी सुन्नु परेन।
चाणक्य नीतिमा भनिएको छ— महामारीजस्ता आफतकालमा “जनको, धनको धन भन्दा बढी पत्नीको र धन एवं पत्नी भन्दा बढी आफ्नो सुरक्षा गर्नु पर्दछ।” साहेबले केटाकेटीमा शायद चाणक्य नीति घोकेका रहेछन्, र त महामारीबाट सुरक्षित बस्न जापान पलायन भए। पत्रकारहरूलाई समेत भनक लाग्न नदिई जापान छिरेका मेयरलाई हैजा पिडितलाई बेवारिसे बनाएर जापान जानु उचित नहुने सुझाव पनि कसैले दिन भ्याएन। त्यसो मेयरको सचिवालय सेवामा केही दिग्गज पत्रकारहरू हरदम खटिरहेको देखिन्छ। मेयर जापान कुलेलम ठोके पछि सदाझैं महानगरपालिका कार्यालय “मणि हराएको सर्प” झैं देखिन्छ।
वीरगंज अहिले छेउछाउका जिल्लाका बिरामीको उपचार केन्द्र भएको छ। महानगरमा ठूला–ठूला अस्पताल, उपचार केन्द्र छन्। तर “लहासामा सुन छ, मेरो कान बुच्चे” भनेझैं पर्सा जिल्ला र महानगरभित्रका हैजा प्रभावितहरू, तिनका परिवार र आफन्तजन, मित्रगणहरूबीच मेयर वीरगंजमै उपस्थित हुनु पर्थ्यो वा जापानमै भन्ने बहस र गन्थनमन्थन चर्को रूपमा चलेको छ। “रोम जल्दा राजा बाँसुरी बजाउन तल्लीन थिए, वीरगंजमा हैजा फैलिएपछि साहेब जापान जानु उस्तै–उस्तै कुरा हो।”
त्यसो त मेयर पनि एउटा मान्छे हो। उनी जतिसुकै बेला जहाँ पनि आउन–जान स्वतन्त्र छन्। कसैले टिकाटिप्पणी गर्न मिल्दैन। तर नगरपिताको पगरी भिर्ने, नगर प्रमुख भन्ने अनि महामारीको समयमा विदेश जाने याद आउने।
उत्तरदायित्व, जिम्मेवारी नबुझ्नेहरूलाई सम्झाउनु, बुझाउने महानगरबासीको दायित्व होइन र ? कुरा बुझ्दैन, कुखुरा मूत्दैन।

साभार:- अंकुश दैनिक पत्रिकाबाट 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.