Home » Blog » नगरप्रहरी र राजेशमान

नगरप्रहरी र राजेशमान

Ankushdaily
0 comment 136 views

(स्तम्भकार कुमार रुपाखेती)

एकातिर अस्ती वीरगंज महानगरका मेयर साहेबले जेनजी आन्दोलनमा महानगरपालिका जलाउन, लुटपाट गर्न आएका समूहबाट जोगाउन महानगर प्रहरीले अहम भूमिका खेलेको, महानगरपालिका जोगाएको छ भन्दै महानगर प्रहरीलाई ठूलो स्वरमा धन्यवाद दिए । अर्कोतिर लुटपाट र आगजनी गर्ने समूहले महानगरपालिका कार्यालयमा ठूलो क्षति गर्दै करिब एक अर्ब १५ करोडको हानि नोक्सानी पुर्याएको अचम्मको घोषणा गरे ।
धन्यवादका पात्र महानगर प्रहरीले स्याबासी पाउने अनि अर्ब बढीको क्षति कसरी पत्याउने ? नगरप्रहरीलाई स्याबासी होइन तलब दिनुस् साहेब । दशैं आइसकेको छ । दशैं आयो खाउला पिउला भन्ने चाहना उनिहरुमा छ । महानगर प्रहरीको दुःखदायी अन्दरुनी कहानी समेत वीरगंजमा चर्चित छ। आफ्नै लगानीमा बुट, पोसाक, कम्मरपेटी खरिद गरेर १० घण्टाभन्दा बढी नगरको सेवा गर्ने वीरगंजका महानगर प्रहरीहरू मध्ये धेरैले महिनौं देखि तलब पाएका छैनन् । झण्डै दर्जन नगरप्रहरीले तलब, सेवा सुविधा लामो समयदेखि नपाएको भन्दै राजीनामा दिए। “भुखले पेट भजन ना होई” भन्ने सन्देश मेयरलाई दिए। मेयरको त्रास यति हदसम्म छ, कि लामो समयदेखि “कामको दाम” नपाउँदा समेत विचरा नगरप्रहरी मेयरको कार्यकक्षमा गएर तलब देउ भन्न सकेका छैनन् ।
त्यस्तै नारायणी स्पोर्ट्स क्लब कुम्हालटोलमा नगरप्रहरी नाजायज तरिकाले परिचालन गरी क्लबको ताल्चा अवैध रुपमा फोडिएको घटना सेलाएको छैन । महानगर कार्यालयमा मेयरको हाँकोडाको अझै कम भएको छैन । जापान घुमेर आएको रे। जापानीहरू विस्तारै बोल्छन्, मसिनो बोलीले आफ्नो कुरा राख्छन् । के सिके त उन्ले जापानमा। बुढ सुगाका पढी। त्यस्तै महानगर कार्यालयमा ठूलो क्षति भएपछि उनी एकाएक सञ्चार माध्यममा उपस्थित भएर– “जनताको सम्पत्ति हो महानगरको सम्पत्ति, महानगर कार्यालय लुट्नेलाई लाज नभएको समूह” भन्दै कुर्ले । महानगरपालिका कार्यालय जल्दा, लुटपाट हुँदा मेयर, उनका आसेपासे र अन्य जनप्रतिनिधिको डफ्फा कता लुकेर बसेका थिए ? मेयर साहेबको डफ्फा जलिरहेको महानगर जोगाउन नआई किन लुकीछिपी बसे ? अहिले पानी माथिको ओभानो बन्दै कसैले पनि नक्कचरो कुरा गर्न सुहाउँदैन। सबैलाई थाहै छ महानगरका ३२ वडा, मेयर, उपमेयर, हजार हाराहारीका कर्मचारी, सैकडौँ नगर प्रहरी छन् । तर मुठ्ठिभर बदमास, छुल्याहाहरूले कार्यालयमा उत्पात मच्चाउँदा सबै गायब । “आगलगी मे कुत्ता जरी” भन्ने उखानै छ। उल्टै अस्ती एउटा पत्रकार भनाउदोको उटपटाङ प्रश्न सोध्ने तरिका देखेर प्रदीप यादव र राजेसमानको जोडी आग बबुला भयो। आगोमा घ्यु थप्ने पत्रकारिता गर्नुहुँदैन ।
जेनजीको आन्दोलनले “मैं हुँ” भन्ने धेरैको राजनीतिक जीवनमा समेत आगो लगाइदिएको छ । देउवा, ओली, प्रचण्डहरूको रोब रवाफ मात्र खरानी भएन । यिन्को पार्टी प्रमुखको पद समेत धरापमा परेको छ । अफवाह हो कि सच्चाइ हो, विगतमा चलेको उडन्ते खबरका अनुसार प्रदीप यादव, राजेशमान एमालेको टाँङ मुनि छिर्ने चर्चा थियो । तर भदौ २३ गते बालकहरूको आन्दोलनमा रक्तपिपासु ओली सरकारले अन्धाधुन्ध गोली प्रहार गरी दर्जनौंको ज्यान लिएपछि एमाले पार्टी नै जनताको नजरवाट गिरेको तथा काँग्रेस–एमालेको राजनीतिक ग्राफ घटेको छ । ओली नै अस्ताइरहेको अवस्थामा लुकिछिपी शरणार्थी जीवन बाँच्दै छन् । अब कुर्सिका भुख्ख ल हरू (भोकाहरू) कुन आशा लिएर एमाले छिर्ने ? एमालेको बजुद नै पुरै खस्किएको छ। हार्ने पार्टीमाको बस्छ र ? चुनावसम्म एमालेकै कतिपय कार्यकर्ताले एमाले परित्याग गर्ने देखिन्छ । अनि प्रदीप यादव र राजेश मान कहाँ अटाउने ? उनीहरूको पुरानो घर छाता छापले समेत तिनलाई भित्र्याउने सम्भावना झिनो छ। “लौटके बुद्धू घरको आए” भने कुरा बेग्लै हो।
जेनजी आन्दोलनमा घुसपैठियाहरूले विरगंजमा पूर्वमुख्यमन्त्री लालबाबु राउत, अजय चौरसिया, अनिल रुँगटा, राजकुमार गुप्ता,प्रदीप यादव, राजेश मानको घरमा ताण्डव मच्चाएको, लुटपाट र ज्यादति गरेका थिए, जुन निन्दनीय कार्य हो। तर असहज वातावरणमा डराउने र सहज माहोलमा कराउने तरिका ठीक होइन।
ठूलो जनप्रतिनिधिको जमातले वीरगंज महानगरपालिका जल्दा टुलुटुलु हेरेर बसेको धेरैलाई चित्त बुझेको छैन ।होस गर नेताजी, चारैतिर प्रवेश निषेध लागु छ।
भुख्खले, पियासे, बिना तलबका केही नगरप्रहरीले महानगरपालिका कार्यालयको नोक्सानी जोगाए अनि मेयर पनि घटनास्थलमा उपस्थित भएर होस्टेमा हैसे गरेको भए नगरवासीले पनि मेयरलाई धन्यवाद साहेब भन्थे । केही नगरप्रहरीलाई साथ दिँदै सबै वडाका जनप्रतिनिधिहरू प्रतिकारमा नगरपालिका कार्यालयमा उपस्थित भएको भए उपद्रवीको के मजाल आगजनी र लुटपाट गर्न ? यिनलाई त “वनको बाघले नखाए पनि मनको बाघले खाएकाले” लुक्दै छिप्दै ठिक थियो। जान हथेलिमा” भन्दै लुटेराहरूसित भिडने सबै नगरप्रहरी कर्मचारीहरुममा मेरो पनि उच्चकोटिको सम्मान छ। तलब दशैंअघि पाउनु पर्छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.