Home » Blog » नायक नहि खलनायक है तू ।

नायक नहि खलनायक है तू ।

Ankushdaily
0 comment 49 views

(स्तम्भकार कुमार रुपाखेती)

कांग्रेस, एमालेको बहुचर्चित दुई तिहाईको सरकारलाई युवाहरु‌को एकदिने आन्दोलनले भड्‌खालोमा पुर्‍याई दियो ।
वालुवाको महलमा परिणत भई हावाकावा भै सक्दा समेत तत्कालिन प्रधानमन्त्री ओलिको टपरटुईया बोलिचालिमा तनिक पनि परिवर्तनको छनक देखिदैन ।
सबैलाई थाहै छ दुई तिहाईको दुहाई दिदै कांग्रेस र एमालेका नामुद भ्रष्टाचारीहरू सरकारमा थिए, जसको संरक्षण ओलिले गर्दै आएका थिए । भनिन्छ ओलिको बड़बोलेपन र निरंकुश अनि भ्रष्ट शैलीले गणतान्त्रिक सरकार क्षणभरमै धुलो चाट्न विवश भयो। भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको राप र तापले बच्न क्रान्तिकारी प्रधानमन्त्री सैनिक सुरक्षामा ओथरा बस्न अज्ञात स्थल तर्फ लागे । अहिले स्थिति सहज भएपछि फेरी कार्यकर्ता, प्रहरी र सेनाको बाक्लो सुरक्षा कवचमा ओत लाग्दै जेनजी आन्दोलनको मानमर्दन हुने गरी तोते बोली बोल्न थालेका छन् । “रस्सी जल गई, ऐठन नहीं गई” भनेकै ओली प्रकृति हो। हिजो देश देशाटन र धर्मकर्ममा सरिक हुँदा समेत पूर्व राजा ज्ञानेन्द्रलाई “खबरदार, होशियार”, भन्ने ओलीलाई जनताले होशियार, खबरदार भन्ने की नभन्ने ? किन औला नठ्याउने । महेश बस्नेत एण्ड कम्पनिका गुण्डाको संरक्षणमा बसेर गुण्डई भाषा प्रयोग गरेर बलेको आगोमा घ्यु थप्ने अर्ति बुद्धि ओलीलाई कसले दिई रहेको छ? के ओलीको मिशन ८४ भनेको आफैं स्वयं र एमालेको पतन नै हो त ?
अहिलेसम्मको ओलीको बकबकले त यही देखाइ रहेको छ। “हम तो डुबे, तुमको भि लेके डुबेङगे “ भनेकै ओली नीति हो।
ओली, देउवाहरुको जनम पनि आन्दोलनबाटै भएको हो, कुनै बेला आन्दोलनका नायक थिए कुर्सी पाए, अहिलेको पुस्ताको आन्दोलनले खलनायक घोषणा गर्दै सत्ताबाट पन्छाई दिए। नायक नहि खलनायक है तू ।
बिस्तारै बुझ्दै जाँदा जेनजीको आन्दोलनलाई समेत अस्थिर नेपाल देख्न चाहनेहरूको भरथेग र भरपुर सहयोग थियो। मुलुक भरी हातमा पेट्रोलको बोतल बोकेर हिँड्ने, घर सल्काई दिने, जायजेथा लुट्ने, तहसनहस गरि दिने आदि कुकृत्यमा कतै विदेशी हात त थिएन भन्ने प्रश्न लाजिमी छ । मुलुकका शासकहरू दुई हातले लुट्न सक्रिय भएको मौका पारेर अर्कैले चलखेल गरिरहेको हाम्रा भ्रष्ट नेताहरूले भेऊ (चाल) नै पाएनन् ।
“बाघ लाग्यो घिच्याउन, राँड लागि चिच्याउन” भन्ने अवस्थामा पुगेका ओली प्रचण्ड, देउवाहरू लुक्न, छिप्न र ज्यान बचाउने तर्फ लागे। अनि मुलुकमा अराजकता जंगलको आगो झै सल्कियो ।
गणतन्त्रको नाममा लुट्न पल्केकाहरूलाई जेनजी आन्दोलनले सबक सिकायो तर अराजकतामा लगाम लगाउन सकेन । भ्रष्टाचार र फरियाबादले आक्रान्त जनता कोहि मौन बसे, कोहि रमिता बने। जनताले चुनेको पार्लियामेन्ट भंग हुँदा समेत कसैले चुइक्क गर्न नसक्नु नै गणतन्त्रको अपमान होइन र ? कहाँ गए गणतन्त्रको दुहाई दिने अवसरवादीहरु ? राजा महेन्द्रले २०१७ सालमा शासन हातमा लिनासाथ कांग्रेस र कम्युनिस्टका थुप्रै नेताहरू पंचायतमा बिलीन भएको होइन र ? अहिले पनि गणतन्त्रवादी भनाउँदाहरू सुशीला कार्कीको जयजयकारमा लाइन लाग्दैछन्। हाम्रो गणतन्त्रलाई हाम्रो संविधानलाई कागजको खोस्टा साबित गर्न पनि एमाले, कांग्रेस र माओवादी होइनन् र ?
फेरि आफैले कागजको खोस्टा साबित गरेको गणतन्त्रको दुहाई दिएर ओलीहरूको दिन फिर्ला र ? जनजी आन्दोलनले समेत आँखा नखुलेका भ्रष्टहरु अब पनि पैसामुखी राजनीति, पेशाकर्मीहरू पैसाकै लागि, पदकै लागि लेफ्ट–राइट गर्ने हो भने बचे खुचेको गणतन्त्र समेत स्वाहा हुने निश्चित छ।
ज्यू ज्यानको आहुति दिएर जनताले गणतन्त्र ल्याए, नेताजी र राजनीतिक दलले मजा लिए। खोक्रो गणतन्त्रलाई जिन्दा र जिता जागता बनाउने जिम्मा अब जनताको काँधमा रे। सरासर नाजायज होइन त यो? “हर बहे से खर खाए, बकरी अचार खाए” भन्ने वर्तमान धक्कमपेलमा कोहि बलिको बकरा बन्न चाहेको देखिदैन। ओली, देउवा, प्रचण्ड जस्तो कसैको पतन नहोस्।
माता दुर्गाले सबैको कल्याण गरून।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.