11
वीरगंज।
नेपाली कांग्रेसका छ महानगर सभापतिहरूले पार्टीको नियमित महाधिवेशन एक महिनाभित्र सम्पन्न गर्न सकिने निष्कर्ष निकालेका छन्।
ललितपुरमा बुधबार सम्पन्न अन्तर–महानगर कार्यसमिति बैठकमा काठमाडौँका निलकाजी शाक्य, ललितपुरका शुभानन धाख्वा, पोखराका सुरेन्द्रमान विजुक्छे, विराटनगरका दीपक चापागाईं, भरतपुरका चित्रसेन अधिकारी र वीरगंजका मनिन्द्र नेपाली सहभागी थिए।
बैठकले पार्टीको नियमित महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्दै त्यसका लागि आवश्यक तयारीमा आफूहरू सहयोग र समन्वय गर्न तयार रहेको जनाएको छ। सभापतिहरूले महाधिवेशन समयमै सम्पन्न गर्न कार्यतालिका समेत प्रस्ताव गरेका छन्। प्रस्ताव अनुसार दुई साताभित्र क्रियाशील सदस्यता टुंगो लगाई पहिलो पाँच दिनभित्र वडा र क्षेत्रीय अधिवेशन, त्यसपछिका पाँच दिनमा जिल्ला र प्रदेश अधिवेशन र अन्तिम पाँच दिनमा केन्द्रीय अधिवेशन सम्पन्न गर्न सकिने उल्लेख गरिएको छ।
बैठकको निर्णयसहित ध्यानाकर्षणपत्र आजै केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मालाई बुझाइएको छ। सभापतिहरूले विशेष महाधिवेशनको माग समेत सम्बोधन हुने भएकाले अब नियमित महाधिवेशन ढिला गर्नु नहुने धारणा व्यक्त गरेका छन्।
