Home » Blog » उत्तेजक अभिव्यक्तिले निम्त्याएको तनाव, सशस्त्र प्रहरीको ‘दोहोरो भूमिका’ माथि प्रश्न

उत्तेजक अभिव्यक्तिले निम्त्याएको तनाव, सशस्त्र प्रहरीको ‘दोहोरो भूमिका’ माथि प्रश्न

Ankushdaily
0 comment 769 views

वीरगञ्ज ।

वीरगञ्जमा सोमबार गोदाममा छापामारी गर्ने क्रममा सशस्त्र प्रहरी र व्यवसायीबीच भएको झडपको मुख्य कारण जिम्मेवार निकायका कर्मचारीको असंयमित बोली र सुरक्षा निकायबीचको समन्वय अभाव रहेको तथ्य बाहिर आएको छ।

वीरगञ्ज भन्सार कार्यालयका नायब सुब्बा हाफिजुल्लाह अंसारीले छापामारीका क्रममा प्रयोग गरेको अमर्यादित भाषा र कानुनी प्रक्रिया मिच्ने अभिव्यक्तिका कारण स्थिति तनावपूर्ण बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा व्यवसायीले “अरूको घरमा ताला फोडेर सामान लैजान मिल्छ?” भनी प्रश्न गर्दा ना.सु. अंसारीले “स्थानीय तहमा कसैले सहयोग नगरे लाठी हानेर पनि सामान उठाउनुपर्छ भन्ने कानुनमा लेखिएको छ” भन्ने गैरजिम्मेवार जवाफ दिएपछि वातावरण उत्तेजित भई झडपको स्थिति सिर्जना भएको देखिन्छ।

घटनाको पृष्ठभूमि हेर्दा, मदन गुप्ताको घरमा भाडामा सञ्चालित ‘सविता इन्टरप्राइजेज’ का सञ्चालक प्रमोद कुमार कानुको गोदाममा चार दिनअघि मात्रै प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारीको नेतृत्वमा चेकजाँच भएको थियो। सो क्रममा कागजात दुरुस्त देखिएको भन्दै टोली फर्किएको थियो। तर, सोमबार सोही गोदाममा पुन: छापामारी गर्न पुगेको टोलीलाई साँचो लिएर आउने व्यक्ति १० बजेसम्म आउने भन्दै पर्खन आग्रह गर्दागर्दै जबर्जस्ती गर्न खोजिएपछि तनाव बढेको थियो। भन्सार र सशस्त्र प्रहरीको फरक-फरक युनिटको कार्यशैलीमा देखिएको यो विरोधाभासले व्यवसायीहरूलाई सशंकित बनाएको छ।

उक्त घटनापश्चात् जिल्ला प्रहरी कार्यालय पर्साले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएको छ। तर, पक्राउ परेकामध्ये चन्दन सर्राफ बाहेक अन्य तीन जना निर्दोष रहेको स्थानीयको दाबी छ। स्थानीयका अनुसार शिवचन्द्र साह, प्रितम तिवारी र प्रभु साह घटनामा संलग्न नरहेको र प्रहरीले उनीहरूलाई घर तथा बाटोबाटै पक्राउ गरेको भन्दै आफन्तजनले आपत्ति जनाएका छन्।

यस घटनाले वीरगञ्जमा कार्यरत सुरक्षा निकायको कार्यशैली र निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको छ। स्रोतका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म अलौका डीएसपी डम्बर कार्की (हाल तालिमको सिलसिलामा काठमाडौँमा रहेका), वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिक्रम सुवेदी र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरको कार्यक्षेत्रमा ‘सेटिङ’ मिलाएर रातीको समयमा तस्करीको लाइन दिने तर अर्को युनिटले बजारमा भण्डारण गरिएका ती सामान छापामारी गरेर लैजाने ‘दोहोरो चरित्र’ देखिएको भन्दै आलोचना भइरहेको छ।

तस्करी नियन्त्रणमा सुरक्षा निकायहरूकै बीचमा देखिएको अस्वच्छ प्रतिस्पर्धा र आर्थिक प्रलोभनका कारण यस्ता अप्रिय घटनाहरू दोहोरिने गरेको व्यवसायीहरूको गुनासो छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.