Home » Blog » पर्सा-१ का रास्वपा उम्मेदवार पन्तद्वारा सहिद दिलिप चौरसियाको परिवारसँग भेटघाट, मधेस आन्दोलनको मर्म जोगाउने प्रतिबद्धता

पर्सा-१ का रास्वपा उम्मेदवार पन्तद्वारा सहिद दिलिप चौरसियाको परिवारसँग भेटघाट, मधेस आन्दोलनको मर्म जोगाउने प्रतिबद्धता

Ankushdaily
0 comment 30 views
वीरगन्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले मधेस आन्दोलनका सहिद दिलिप चौरसियाको परिवारसँग भेटघाट गरेका छन्। मंगलबार वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरमा आयोजित घरदैलो कार्यक्रमका क्रममा पन्तले सहिद चौरसियाकी आमा रामज्योती देवी र दाजु पृथ्वी नारायण चौरसिया लगायतका पारिवारिक सदस्यहरूसँग भेटघाट गरेका हुन्। भेटका क्रममा सहिद परिवारले मधेस आन्दोलनको जगमा राजनीतिक रोटी सेक्ने तर मधेसी जनतामाथि दमन गर्ने दलहरूसँगै मिलेर मधेसवादी नेताहरूले आन्दोलनको उपहास गरेको भन्दै गहिरो दु:ख व्यक्त गरे। उनीहरूले पुराना दलहरूबाट निरास भएको बताउँदै अबको आशा र पूर्ण समर्थन राष्ट्रिय स्वतन्त्र पार्टीलाई रहने बताए। सो अवसरमा रास्वपाका पर्सा सभापति समेत रहेका उम्मेदवार पन्तले मधेस आन्दोलनका सहिदहरूलाई पनि अन्य ऐतिहासिक आन्दोलनका सहिद सरह सम्मान र व्यवहारिक कदर दिलाउन राज्यलाई निरन्तर खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरे।
मंगलबार नै जगरनाथपुरमा आयोजित घरदैलो अभियानमा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको सुरुवात श्रीराम जानकी मन्दिरमा पूजा–अर्चना गरी गरिएको थियो। जगरनाथपुर चोकबाट सुरु भएको घरदैलो अभियान वडाका विभिन्न टोलहरूमा पुगी कोणसभा र अन्तरक्रियामा परिणत भएको थियो। घरदैलोका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य र भावी योजनाबारे प्रकाश पारेका थिए। उनले जनताका गुनासा सुन्दै पार्टीले अघि सारेका सुशासन र समृद्धिका एजेन्डाहरू व्याख्या गरे।
अभियानका क्रममा स्थानीय बासिन्दाहरूले शिक्षा, रोजगारी, शुद्ध खानेपानी, सरसफाइ, सडक पूर्वाधार, स्वास्थ्य उपचारको सहजता तथा सुशासनसँग सम्बन्धित विविध समस्याहरू उम्मेदवार समक्ष राखेका थिए। स्थानीयका समस्या र सुझावलाई सम्बोधन गर्दै उम्मेदवार पन्तले वडाका यावत समस्याहरूलाई टिपेर समाधानका लागि नीतिगत र व्यवहारिक पहल गर्ने विश्वास दिलाए। कार्यक्रममा रास्वपाका नेता–कार्यकर्ता, स्थानीय युवा, महिला तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
निर्वाचन परिचालन समिति, वीरगन्ज–२२ जगरनाथपुरका संयोजक युवराज पटेलले कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण स्थानीयवासी, पार्टी कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.