Home » Blog » नितिश कुमार १०औँ पटक बिहारका मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गर्दै

नितिश कुमार १०औँ पटक बिहारका मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गर्दै

Ankushdaily
0 comment 6 views
एजेन्सी ।
जनता दल युनाइटेड (जेडीयू) का नेता नितिश कुमार आज १०ौँ पटक भारतको बिहारका मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गर्दै छन्। बुधबार बसेको एनडीए (राष्ट्रिय लोकतान्त्रिक गठबन्धन) को व्यवस्थापिका दलको बैठकले नितिशलाई नेता चयन गरेपछि उनी पुनः मुख्यमन्त्री बन्न लागेका हुन्। एनडीए नेताहरूसँग सहकार्य गर्दै उनले बिहारमा नयाँ सरकार गठनको दाबी गरेका छन्।
नयाँ सरकारको शपथ ग्रहण समारोह पटनाको गान्धी मैदानमा विशेष रूपमा आयोजना गरिएको छ, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित रहनेछन्। गृहमन्त्री अमित शाह बुधबार साँझ नै पटना पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
नितिश कुमारले करिब १९ वर्ष सम्म बिहारको शासन सम्हालीसकेका छन्, जसले उनलाई राज्यका सबैभन्दा दीर्घकालीन मुख्यमन्त्रीको रुपमा स्थापित गरेको छ। देशभरका मुख्यमन्त्रीहरूको लामो कार्यकालको सूचीमा पनि उनको नाम शीर्ष स्थानहरूमा पर्छ। उनले अहिलेसम्म नौपटक पदबहाली गरिसकेका छन्, र आज दशौँ पटक शपथ लिँदैछन्।
सबैभन्दा लामो समय मुख्यमन्त्री रहने सूचीको शीर्षमा भने सिक्किमका पूर्वमुख्यमन्त्री पवन कुमार चामलिङ छन्, जसले १९९४ देखि २०१९ सम्म २४ वर्ष सेवा गर्दै पाँचपटक शपथ लिए। दोस्रो स्थानमा ओडिशाका नवीन पटनायक छन्, जसले बिजु जनता दलको नेतृत्व गर्दै २४ वर्ष ९९ दिन शासन गर्दै पाँचपटक पदबहाली गरे।
पश्चिम बंगालका ज्योति बसुले १९७७ देखि २००० सम्म २३ वर्ष सेवा गरे भने अरुणाचल प्रदेशका गेगोङ अपाङले दुई कार्यकाल गरेर पाँचपटक शपथ लिए। मिजोरमका लाल थानहवलाले तीन अलग–अलग कार्यकाल मिलाएर २२ वर्ष नेतृत्व सम्हाले।
यसपछि नितिश कुमारको स्थान आउँछ, जसले १९ वर्ष बिहारलाई नेतृत्व दिइसकेका छन्। यदि उनी २०३० सम्म शासनमा रहे, उनी भारतका सबैभन्दा लामो समय सेवा गर्ने मुख्यमन्त्रीहरूको शीर्ष तीनमा पर्नेछन्।
बिहारमा एकभन्दा बढी पटक शपथ लिने मुख्यमन्त्रीहरूको सूचीमा नितिशसँगै सात नेताहरू परेका छन्। तीमध्ये पहिलो नाम बिहारका पहिलो निर्वाचित मुख्यमन्त्री श्रीकृष्ण सिंहको हो, जसले १९५२ र १९५७ मा दुईपटक पदबहाली गरे।
भोला पासवान शास्त्रीले तीनपटक मुख्यमन्त्री भए पनि एक वर्ष पनि स्थिर रूपमा शासन गर्न पाएनन्। कर्पुरी ठाकुरले दुई कार्यकाल मिलाएर जनताको नेता कहलिने योगदान दिए। जगन्नाथ मिश्रले तीनपटक शपथ लिएर पाँच वर्ष शासन गरे। लालु प्रसाद यादवले दुई कार्यकाल सेवा गरे, तर चारा घोटाला प्रकरणपछि पदत्याग गर्नुपर्‍यो।
अहिलेसम्म बिहारमा एक मात्र महिला मुख्यमन्त्री राबडी देवी बनेकी छन्, जसले आफ्ना श्रीमान् लालु प्रसाद यादव जेल पछि तीनपटक शपथ लिएकी थिइन्।
बिहारमा १० वर्षभन्दा बढी सेवा गर्ने मुख्यमन्त्रीमा भने दुई नाम मात्र पर्छन् — श्रीकृष्ण सिंह र नितिश कुमार।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.