Home » Blog » हङकङमा ३२ तले भवनमा आगलागी हुँदा ४४ जनाको मृत्यु

हङकङमा ३२ तले भवनमा आगलागी हुँदा ४४ जनाको मृत्यु

Ankushdaily
0 comment 6 views
एजेन्सी ।
हङकङको ताइ पो जिल्लास्थित एक धेरै तलाको आवासीय भवनमा लागेको विनाशकारी आगलागीमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ। बुधबार दिउँसोदेखि सुरू भएको आगो नियन्त्रणमा आउन नसक्दा २७९ जना अझै बेपत्ता रहेको रोयटर्सले जनाएको छ।
वाङ फुक कोर्ट नामक ३२ तले आवासीय भवनबाट सुरु भएको आगो वरपरका अन्य भवनहरूमा समेत फैलिएको बताइएको छ। सयौँ अग्निनियन्त्रक र दमकल परिचालन गरिए पनि १६ घन्टादेखि आगो निरन्तर बलिरहेको सिएनएनले उल्लेख गरेको छ।
उद्धारकर्मीहरू अझै पनि धुवाँ र आगोले भरिएका अग्ला अपार्टमेन्टहरूबाट मानिसहरूलाई बाहिर निकाल्ने प्रयत्न गरिरहेका छन्। आगलागी भएको भवनमा करिब २ हजार अपार्टमेन्ट थिए, जहाँ धेरैजसो वृद्धवृद्धा बस्ने गरेको बताइएको छ।
मृतकमध्ये ४० जनाको घटनास्थलमै मृत्यु पुष्टि भएको छ भने कम्तीमा ६२ जना घाइते छन्। धेरै घाइतेहरूमा गम्भीर जलन तथा धुवाँको असर देखिएको छ।
आगलागीसम्बन्धी अभियोगमा प्रहरीले ५२ देखि ६८ वर्ष उमेरका तीन जनालाई पक्राउ गरेको छ। तीमध्ये दुईजना निर्माण कम्पनीका निर्देशक र एक जना इन्जिनियरिङ परामर्शदाता रहेको बताइएको छ।
भवनको बाहिरी भागमा प्रयोग भएका केही सामग्री आगो प्रतिरोधका मानक अनुसार नभएको र हरेक तल्लामा लिफ्ट लबी नजिक अत्यन्तै ज्वलनशील स्टाइरोफोम भेटिएको प्रहरीले जनाएको छ। वरिष्ठ अधिकारी आइलीन चङका अनुसार निर्माण कम्पनीका जिम्मेवार व्यक्तिहरूको गम्भीर लापरबाही देखिने प्रमाण भेटिएको छ।
आगो नियन्त्रण अधिकारीहरूले बिहीबार बिहानसम्म चारवटा भवनको ठूलो भागमा आगो नियन्त्रणमा आउने क्रममा रहेको जानकारी दिएका छन्। उद्धारका क्रममा एक ३७ वर्षीय फायर फाइटरको ज्यान गएको छ भने अर्का एक जना अत्यधिक तापका कारण अस्वस्थ भएका छन्।
सयौँ फायर फाइटर, प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरी अग्ला सिँढी ट्रकमार्फत पानीको फोहोरा हान्दै स्तर–५ (उच्चतम आपतकालीन स्तर) को आगो निभाउने प्रयास भइरहेको छ।
घटनाप्रति चिनियाँ राष्ट्रपति सी चिनफिङले दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन् र क्षति कम गर्न सबै उपाय अपनाउन निर्देशन दिएका छन्।
हङकङका प्रमुख कार्यकारी जोन लीले दुर्घटनालाई अत्यन्त गम्भीर भन्दै डिसेम्बर ७ का लागि तय सबै सार्वजनिक निर्वाचन कार्यक्रम तत्कालतिर स्थगित गरिएको घोषणा गरेका छन्।
ताइ पोका अधिकारीहरूले विस्थापितका लागि अस्थायी आश्रयको व्यवस्था गरिएको बताइएको छ।
सन् १९९६ मा काउलुनस्थित एक व्यावसायिक भवनमा लागेको तह–५ आगलागीमा ४१ जनाको मृत्यु भएको थियो। त्यसपछि यो हङकङमा भएको सबभन्दा घातक आगलागी भएको बताइन्छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.