Home » Blog » पूर्वमुख्यमन्त्री सरोज यादव सरकारका सबै निर्णय बदर

पूर्वमुख्यमन्त्री सरोज यादव सरकारका सबै निर्णय बदर

Ankushdaily
0 comment 7 views
जनकपुर।
मधेश प्रदेश सरकारका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वमा बसेका मन्त्रिपरिषद् बैठकहरूले गरेका सबै सरुवा, काज सरुवा र जिम्मेवारी हेरफेर सम्बन्धी निर्णयहरू बदर गरिएको छ।
मुख्यमन्त्री कृष्ण यादव नेतृत्वमा नवगठित सरकारको आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले २०८२/०७/२३ देखि २०८२/०८/१७ सम्मका सबै मन्त्रिपरिषद् बैठकहरूबाट भएका कर्मचारी सरुवा, काज, जिम्मेवारी हेरफेर तथा थप जिम्मेवारी तोक्ने सम्बन्धी निर्णय पूर्ण रूपमा बदर गर्ने निर्णय गरेको हो। सो अवधिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयहरूबाट भएका सबै सरुवा–काजसम्बन्धी निर्णय पनि खारेज गरिएको छ।
मन्त्रिपरिषद्ले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका प्रदेश सचिव जयकुमार घिमिरेलाई अर्को व्यवस्था नभएसम्म आफ्नै जिम्मेवारीका अतिरिक्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासनिक तथा आर्थिक अधिकारसहित निमित्त प्रमुख सचिव को जिम्मेवारी दिने निर्णय गरेको छ।
राज्यको प्रमुख दायित्व नागरिकको जीवन रक्षा रहेको उल्लेख गर्दै, क्यान्सर, मिर्गौला, मुटु रोग लगायत गम्भीर बिरामीलाई दिइँदै आएको औषधोपचार आर्थिक सहायता कार्यक्रमलाई तत्काल पुनःसञ्चालन गर्ने तथा आवश्यक परे चालु आर्थिक वर्षमा थप बजेटको व्यवस्था अर्थ मन्त्रालयले प्राथमिकताका साथ गर्ने निर्णय गरिएको छ।
मधेश प्रदेश बाढी, डुबान, आगलागी तथा शीतलहर जस्ता उच्च जोखिममा रहेको भन्दै, सम्भावित विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारी, खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई अझ चुस्त र प्रभावकारी बनाउन सुरक्षा निकाय, स्थानीय तह र सरोकारवालासँग समन्वय तथा सहजीकरणको प्रक्रिया गृह, सञ्चार तथा कानून मन्त्रालयले तत्काल अघि बढाउने निर्णय गरिएको छ।
यस्तै, प्रदेश सरकारको अधिकार क्षेत्रका विषयमा कार्य सञ्चालनलाई परिणाममुखी र जनउत्तरदायी बनाउन, तर्जुमा हुन बाँकी नयाँ कानूनहरूको मस्यौदा शीघ्र तयार गर्ने तथा आवश्यक परे विद्यमान कानूनहरूको समयानुकूल संशोधन प्रक्रिया तुरुन्त सुरु गर्ने जिम्मेवारी सबै मन्त्रालय र निकायलाई दिने निर्णय पनि बैठकले गरेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.