Home » Blog » सिटिनेट नेपाल, राजेशमान र बीरगंज

सिटिनेट नेपाल, राजेशमान र बीरगंज

Ankushdaily
0 comment 219 views
(स्तम्भकार कुमार रुपाखेती)
सिटिनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक मेयर राजेशमानको अगुवाईमा बीरगंजमा धुमधामले सम्पन्न भएछ। यो बैठकमा शहरी विकास, प्रदूषण व्यवस्थापन, विपद्‌ जोखीम न्युनिकरण, शहर-बीच सहकार्यबारे गहिरो छलफल भएछ । समापन कार्यक्रममा धुरन्धर मेयर राजेशमानले बैठकमा प्राप्त सुझाव र अनुभव आदीले गर्दा भोलीका दिनमा प्रभावकारी, चमत्कारी काम गर्ने फलाके ।
बीरगंज महानगरभित्र रहेको र दिनानुदिन प्रदूषित भैरहेको सिर्सिया नदीको हविगत कसै सँग छिपेको छैन। प्रदूषण फैलाउँदै वरपरको बस्तीमा डुङडुङती गन्हाउने सिर्सिया प्रदूषणमुक्त गर्न राजेशमान लाचार र अनिच्छुक देखिए । शहरी विकासको कुनै खाका र अनुभव मेयरसँग छैन । जस्ले गर्दा सार्वजनिक बाटो मिचेर घर बनाउने, नाला च्याप्ने, घरको टप सडकसम्म हाल्ने, सडक पेटी हाफेर अस्थायी पसल लगाउने काम बीरगंजमा धडल्लेले दिनदहाडै भैरहेको छ, जसका साक्षी मेयर स्वयं नै छन्। विपद् जोखिम न्युनिकरण यहाँ हात लाग्यो शून्य झै छ। शहर-बीच सहकार्य गर्न नजान्ने राजेशमानले जितपुर–सिमराले सहयोग नगरेको भन्दै भावशून्य बने। सिर्सियालाई झन् बढी प्रदूषित गर्न छुट दिए ।
बीरगंजमा खुला नाला माथि बसेर प्रदूषित मासु–माछा बिक्री वितरण रोक्न, रोगव्याध न्युनिकरण गर्न सुरक्षित बुचडखाना (कसाईखाना) खोल्ने कुरालाई मेयरले हावाकावा बनाइदिए। मेयर राजेशमानको बेवास्ताले गर्दा बीरगंजमा बुचडखाना ‘एकादेशको कथा’ बनेको छ। आज पनि बीरगंजवासी झिँगा भन्केको, फोहर र दूषित माछा–मासु किनेर खान विवश छन् भन्ने रामकहानी चल्दैछ। खुल्लामा राखेर मासु–माछा बेच्नु स्वास्थ्यसँग खेलवाड भएपनि सरोकारवालाहरू कुम्भकर्ण निद्रामा छन्। मन्दिर अगाडि र स्कूल अगाडि खुलेआम झिँगा भन्काएर; खसी लट्काएर मासु बेचिन्छ । मन्दिर जाने श्रद्धालु र स्कुले बालबालिकाले यस्तो दृश्य हेर्नुपर्नु मन खलबलिने कुरा हो। माछा–मासुको अवशेष टेकेर हिँड्दा घिन लाग्छ।
बीरगंजमा दर्जनौं मासु–माछा पसलहरू सडक पेटी र खुला नालामाथि बसेर अव्यवस्थित तरिकाले बिक्री गरिरहेको अनौठो दृश्य(नजारा) देखिन्छ। खोई, विद्वान् मेयरलाई यस्तो दृश्यले प्रभाव पार्छ कि पर्दैन? हामीलाई थाहा छ महानगर मेयर राजेशमान मांसहारी हुन ।
लावारिस किसिमले बेचिने खसी, माछा, कुखुराका हडाखोर र गन्दगी आदी सडकमा फालेर प्रदुषण र फोहर बढाउने । यस्ता पसल वरपर कुकुर र कौवाले यस्ता हाड फोहर लगेर घर–घरमा छोडिदिने, घर दुर्गन्धित प्रदुषित गर्ने गर्दछन । बीरगंजमा माछा–मासु बेच्ने निर्धारित स्थान नभएकाले तथा महानगरपालिकाले अनदेखा–अनसुना गर्नुाले बीरगंजमा बिचल्ली छ।
प्रदुषण बढदै गएकाले यो जाडो मौसममा समेत लामखुट्टे र झिँगाले हामीलाई सताइएका छौँ। अव्यवस्थित बीरगंजमा महिलाहरू झनै पीडित छन्। बाल मन, शाकाहारीहरु तथा महिलाहरू सडकमै खसी रेटिरहेको, माछा–कुखुरा काटिरहेको छटपटाइ रहेको देख्दा के सोच्दा हुन भन्ने हैक्का छैन मेयरलाई ।
मासु,मासुको अवशेषलाई आवारा कुकुर र कागहरुले आहार ठानेर उठाएर लग्छन र घरको छत र यताउता छोडिदिने गर्दछन् । यस्ले पनि जनता आहत छन्। वीरगंज महानगरले गर्ने कुनै पनि सफाइ र अन्य कार्य ढंगले नगर्ने, बोझिल मनले गर्छ भन्ने आरोप छ। सफाइ प्रेमीहरूले आफ्नो शहरको सफाई आफै गर्छन्,कामचोरहरूले ठेक्कामा दिन्छन्। आजकाल ठेक्का भन्ने वितिकै लेनदेन, बिचौलिया देखिन्छन्।
हामी महानगरबासी अक्सर गहवामाई मन्दिर जान्छौँ। हिजोको गहवामाई र आजको गहवामाईको हविगत हेर्नुस्—आकाश र पातालको फरक छ। गहवामाई वरपर उखालिएको तारबार र कम्पाउन्ड बनाउनुको सट्टा हाम्रा मेयरलाई महानगरपालिकाको आफ्नै वाल कम्पाउण्डमा पर्खाल लगाउनु के जरुरी पर्‍यो? जय गहवामाई ।
महानगरपालिकाको कलात्मक र बलियो पर्खाल भत्काएर नयाँ पर्खाल लगाउनुको सट्टा गहवामाईको वाल पर्खाल, तारबार पुनः बहाल गरे धर्म लाग्छ मेयर साहेब। पैसा होइन पुण्य कमाउनुस । गहवामाईले सबैलाई शुबुद्धि र आशिर्वाद दिउन्। भगवानको घरमा काखापाखा हुँदैन।
मेयर साहेब, हिन्दी हिरो मनोज कुमार (भारत कुमार) को गीत सुन्नु भा छ? “ना धर्म बुरा, ना कर्म बुरा, ना गंगा बुरी, ना जल बुरा।” अर्थात् कर भला तो हो भला ।विकासप्रेमी, सनातनी मेयरलाई फेरि पनि मेरो प्रश्न— गहवामाई परिसरलाई सुरक्षित गर्न, गहवामाईको सुन्दरता कायम गर्न, लुटिएका तारबार लगाउन तपाईलाई के ले छेकेको छ? भोटले कि नोटले? बापबडा ना भैया सबसे बडा रुपैयाँ महमुदको गित हो यो ।
सिटिनेट नेपालको सदस्य भएपछि, त्यस्को नीतिअनुसार काम भए नभएको चियो-चर्चा गर्नै पर्‍यो । मेयर एन्ड कम्पनिले ह्याउ गरेन भन्दै केही जाँगरिला युवाहरूले चन्दा उठाएर गहवामाई वरपर फलामे पिलर उठाउने र तारबार गर्ने रे ? स्याबास, काबिलेतारीफ कदम। यो सुनेर म लाजले भुतुक्कै भए ।
मन्दिर अगाडि एउटाले भन्दै थियो – “राजेशमानके टाईममे ना बुचडखाना बनि, ना मन्दिर। अर्कोले थप्यो—“बेचारा निराश बा। चन्दा उठाके, उन्के दियाव पनि भने।” मैले भने—“ई ना करिहें, आउर कौनो करि । निराश मत बनी।” त्यसैबेला गहवामाईमा आरती सुरु भयो। मन्दिरको घण्टी पनि बज्न थाल्यो। भक्तजन भावविभोर बने। माताको जयजयकार हुन थाल्यो । पहिले भगवानको पूजा अनि पेट पूजा । यही सनातनी धर्म हो। साहेब त त्यसै पनि खाई-लाग्दो, जाई-लाग्दो र घुतमुने देखिनुहुन्छ। नमस्कार साहेब, जय हो जजमानकी।
अनि यो पनि—बीरगंजमा महिलाहरूको अथक परिश्रम र घामपसिनाले ‘मध्य नेपाल सन्देश साप्ताहिक’ नामक स्तरिय, उच्चकोटीको प्रकाशन छ। मध्य नेपाल समेत मेयरबाट पीडित र अपहेलित छन् भन्ने गाईगुई छ। कविता खड्का, कमला भण्डारीजस्ता महिलाले प्रकाशन गरेको साप्ताहिकलाई प्रोत्साहन गर्नु त कता हो कता उल्टै प्रतिशोध प्रदर्शन गर्छन् राजेशमान । सौताको रिसले पोइको काखमा मुत्ने झै जियालालले मेयरको विरोधमा लेखे रे । जियालाल अहिले मध्य नेपालमा कार्यरत छैनन्। तर पनि महिलाहरूको प्रयासलाई महानगरले होस्टे-हैसे छैन। खोई जियालाल अचेल कता गायब छन् । भनसुनमा पत्र–पत्रिको वर्गीकरण गर्नेहरू समेतले मध्य नेपाललाई अरुको ईशारामा ‘क’ श्रेणीबाट ‘ख’ मा झार्ने प्रपंच हुदैछ रे । म मध्य नेपालको महिला टिमको मेहनत र प्रयासको सराहना गर्छु। जो टिक्छ, त्यही बिक्छ। संघर्ष गर्नुहोस्, सुदिन फिर्छ फिर्छ । ‘क’ वर्गको हकदार हो—मध्य नेपाल।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.