Home » Blog » मेयर र साहिब दरबार

मेयर र साहिब दरबार

Ankushdaily
0 comment 318 views
(स्तम्भकार कुमार रुपाखेती)
राजेशमान र साहिब दरबारबीच पुरानो सम्बन्ध छ । राजेशमानको नेतृत्वमा कोरोना कालमा साहिब दरबारले वीरगञ्जमा सहयोग गरेको थियो । साहिब दरबारका बाबालाई राजेशमानले खुबै श्रद्धा गर्छन् । बाबाकै कृपाले मेयरमा जितेको होलान् ? जय हो विदेशी बाबा । मेयर भनेको सार्वजनिक सम्पत्ति हो । सार्वजनिक सम्पत्ति सरकारी हो । मेयरले प्रयोग गर्ने कार्यकक्ष सरकारी हो । पद रहुन्जेल मेयर सरकारी कारिन्दा हो ।
जेनजी आन्दोलनको आगलागीमा मेयरको कोठा (कक्ष), कार्यालय समेत क्षति भयो । त्यस बेला मेयरको सरकारी कार्यकक्षमा राष्ट्रपति रामचन्द्र पौडेल, तत्कालीन प्रधानमन्त्री केपी ओलीको साना तस्वीर र बाबाको ठूलो तस्वीर शोभायमान थियो । महानगरपालिकामा जेनजी आक्रमणमा मेयरको सरकारी कक्षमा रहेको राष्ट्रनायक, राष्ट्रपति, प्रधानमन्त्रीको फोटो समेत क्षतिग्रस्त भयो । अहिले मेयरको सरकारी कार्यकक्षमा बाबाजीको ठूलो तस्वीर मात्र झुण्डिएको पाइन्छ ।
सरकारी कार्यकक्ष राजेशमानको निजी घर सम्पत्ति होइन । सरकारी कार्यकक्षमा बाबाको तस्वीर मात्र पाइनु र राष्ट्रपति, प्रधानमन्त्री बालेनको तस्वीर नराख्न मेयरले कञ्जुस्याइँ गरेको हो कि हेपेको हो ? नियमसंगत तरिकाले मेयर कहिले हिड्ने ? सबै नागरिकलाई जुनसुकै धर्म मान्ने छुट छ, मेयरलाई पनि छ । तर सरकारी कार्यालय मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर किन झुण्डिएको छैन, यो कुरा मेरो समझमा आएन ।
महानगरका मेयरहरू स्वेच्छाचारी किन हुन्छन् ? पूर्व मेयर विजय सरावगीले त मेयर हुँदा कार्यकक्षमा माता–पिताको फोटो राखे, विवादमा परे । अहिले मेयरले सरकारी कार्यकक्षमा राष्ट्रनायक, सरकारनायकको तस्वीर नराखेर कसलाई चुनौती दिन खोजेको हो ? कि बलमिच्याइँ र दादागिरी हो ? नेपालमा अहिले रा.स्व.पा. नयाँ रंगरुपको सरकार छ । पर्सा जिल्लाको चारै क्षेत्रमा घण्टी जितेको छ । पर्सा क्षेत्र नं. १ बाट हरि पन्त जितेका छन् । तर मेयर साहेबको सरकारी मेयर बस्ने कोठाबाट गुरुजी बाहेक राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहको फोटो गायब छ ।
मेयरको यो ढिठ्याइँलाई महानगरवासीले जेनजी आन्दोलनबाट आएको सरकारलाई मेयरको चुनौतीका रूपमा ठानेका छन् । आशा गरौँ, मेयरको कोठामा छिट्टै राष्ट्रपति रामचन्द्र र प्रधानमन्त्री बालेन अंकित तस्वीर देखिनेछ ।
साभार:- अंकुश दैनिक पत्रिकाबाट

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.