Home » Blog » बाह्र भाई मिडिया

बाह्र भाई मिडिया

Ankushdaily
0 comment 66 views
(स्तम्भकार कुमार रुपाखेती)
भनिन्छ, यस अघिका सरकारहरूमा नेपालका चलनचल्तीका निजी बाह्र भाई मिडियाको चकाचक थियो रे । पत्रकार जगतले पाउने सरकारी सुविधा र विज्ञापनमा बाह्र भाई मिडियाको रजगज र एकछत्र साम्राज्य थियो रे । निजी क्षेत्रबाट सञ्चालित यी बाह्र भाई मिडियाले गर्दा निजी क्षेत्रका अन्य नामिगिरामी पत्रिका र पत्रकारको फटेहाल अवस्था थियो । वर्तमान सरकारले सरकारी विज्ञापन सरकारी मिडियालाई मात्र दिने नीति लिएको छ । यो सरकारी निर्णयले गर्दा हिजो पनि बाह्र भाईको एकलौटी र थिचोमिचोमा परेका निजी मिडियाको अवस्था ‘गेहुको साथ घुन पिसाए’ जस्तै भएको छ ।
सरकारी विज्ञापन कुनै पनि पत्रपत्रिका र मिडियाको मेरुदण्ड हो । निष्पक्ष पत्रपत्रिका सञ्चालनका लागि विज्ञापन अति आवश्यक चीज हो । जुन जोगी आए पनि कानै चिरेको भनेझै नयाँ सरकारहरूको आक्रमण समेत चौथो अंगमा नै हुने गरेको छ । वर्तमान सरकारले नयाँ कुनै काम गर्न नसके पनि पत्रकार, व्यापारी, उद्योगी, विद्यार्थी र कर्मचारीहरूलाई तर्साउने गलाउने कार्य धडल्ले गरेको देखिन्छ । निजीलाई विज्ञापन नदिने, व्यापारीलाई समात्ने,छाडने अनि विद्यार्थी युनियन, कर्मचारी युनियन प्रतिबन्ध गर्छु भन्ने सस्तो प्रचारमुखी काममा तल्लीन छ । सरकारले परिणाममुखी काम गर्न सकेको छैन । नियमन नपुर्‍याएर जनताको आँखामा छारो हाल्न गिरफ्तार गरिएका ओली, लेखक निल्नु न ओकल्नु साबित भएका छन् । झोले भन्दै राजनीतिक कार्यकर्ताहरु दिनदहाडै प्रहरीको निर्मम लाठीचार्जको सिकार बनाइँदैछन् । इन्धन बचाउने भन्दै दुई दिन सरकारी बिदा र यातायातमा जोरबिजोर प्रणालीको पुरानै र असफल नीति बनाइँदैछ । हप्तामा दुई दिने बिदाले नेपालमा रक्सी, मासु र तासको बिक्री बढ्ने देखिन्छ । रसिक कर्मचारीलाई मजै मजा । दुई दिन पाठशाला बन्द गर्नाले विद्यार्थीहरू बरालिएर, अल्लारिएर हिँड्ने खतरा बढेको छ । वर्तमान सरकारले परिवर्तनको जति सुकै झ्याली पिटे पनि घुस र कालोबजारी झनझन बढेको छ ।
चाहिने, नचाहिने जनतालाई बिचौलिया भन्दै समात्ने, अपमान गर्ने कार्य बढेको छ । बिहान नौ बजेदेखि सरकारी अफिस किन ? जबकि गाउँघरका सेवाग्राही नै टाढा गाउँबाट दश बजे पछि सम्बन्धित कार्यालय पुग्छन् । यस्तो हर्कत देख्दा नयाँ जोगीले अलि बढि नै खरानी घसेको देखिन्छ । नयकी घोडी चाल देखावे।
आफ्नो हात जगन्नाथ गर्न कसैले पाउँदैन । महेस बस्नेतले त वैशाख १२ गते सरकारलाई देखाई दिने भन्छन । ओली, लेखकको गिरफ्तारी, प्रहरीको अन्धाधुन्ध लाठीचार्जको बाबजुद राजधानी लगायतका शहरहरूमा उमडिएको भीड देख्दा जीत रास्वपाको र बहुमत जनता पुरानै दलहरूको साथ देखिन्छ । गनिमत छ कि आन्तरिक कलहका कारण नेपाली कांग्रेस आन्दोलनमा छैन । शून्य सिटमा झरेका मधेसवादी दलहरूलाई साँप सुघेको छ । नत्र ठुलो बबाल हुन्थ्यो । गजब छ रवि लामिछानेको मुद्दा लड्ने वकिल नै मुलुकको महान्यायाधिवक्ता ?विगतका विभिन्न आन्दोलनमा नेपाली पत्रकारहरूले अहम योगदान गरेका छन् । कुनै बखत ‘पापड समुह’ बनाएर प्रजातान्त्रिक आन्दोलनमा थिए । कुनै पनि सरकारले पत्रकारको भविष्य सुनिश्चित गर्न योजना ल्याएन । तर पनि दामका लागि नभई नामको लागि पत्रकारहरूले बलिदान दिए ।
थुप्रै परिवर्तनकामी निजी पत्रिका र पत्रकार,मिडियाहरुले चुनावअघि पुराना दलहरूको बदमासी उजागर गर्ने, नयाँलाई मौका दिनुपर्ने आशयका लेख लेखे । अनि परिवर्तनकारी सरकारले परिवर्तनकामी पत्रकारहरूमा विज्ञापनको लगाम कसेर “हर बहे से खर खाए, बकरी खाए अचार” सावित गरेको छ । दुर्गा वा काली माता जस्तै आठ थान हात नभएको यो सरकारले चारैतिर हात लम्काउनु नै असफलताको चिन्ह हो । मोटर गाडीहरूमा संकेतस्वरूप लेखिएको हुन्छ— ‘बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न’। यो सरकारलाई के को हतार छ, त्यो त मलाई थाहा भएन । पुरानै शासकीय शैलीमा विदेशी ऋण लिने हल्लाले यो सरकार नै हल्लिन थालेको छ । घण्टीका झोलेहरूले कतिपय कार्यालयहरूमा जेनजी भन्दै हर्कत गर्नु शर्मनाक छ । यस्तै रवैया रहे ‘घण्टाको घण्टी’ । यो घण्टी स्कुलको घण्टी होइन, यो घण्टी मन्दिरको घण्टी होइन, यो घण्टी घडीको घण्टी होइन । भन्नेहरुले त भन्छन ‘ यो खतराको घण्टी हो रे ।
सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा बैकुण्ठ जाला … दबे स्वरमा होइन, अचेल त हाकाहाकी आमनिर्वाचन २०८२ को मत परिणामलाई शंका गर्न थालिएको छ । सदनमा बादलले त सबै सामु भनिनै दिए । वास्तवमा सडकमा, आन्दोलनमा सुरक्षाकर्मीको हर्कत, आक्रमण पंचायतकाल झै बेकाबू देखिन्छ । मैले त पहिले देखि अनुभव गरेको छु — ‘दुई तिहाइ’ पचाउन गाह्रो हुन्छ यार ।रास्वपाको पाचनशक्ति कमजोर देखिन थालेको छ है । रास्वपा होशियार होइन, रास्वपा खबरदार । रवि र बालनको मुह फुलावा, फुलौन सित सबै परिचित छन् । सभामुख-उपसभामुखको रोजाइमा प्रष्ट देखिदै छ । स्मरणीय छ, निजी उद्योग धन्धा अस्तव्यस्त छ, विज्ञापन आउदैन, सरकारीमा रोक छ अनि निजी संचार कसरी चल्छ सरकार ?

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.