Home » Blog » के फेसबुकले नेपालमा मनिटाइजेसन बन्द गर्‍यो ?

के फेसबुकले नेपालमा मनिटाइजेसन बन्द गर्‍यो ?

Ankushdaily
0 comment 16 views

बुधबार नेपालका फेसबुक प्रयोगकर्तामाझ ठूलो चर्चा पैदा भयो। गत सेप्टेम्बरदेखि फेसबुक अकाउन्ट मनिटाइज गरेर आम्दानी गर्दै आएका नेपाली प्रयोगकर्ताहरूले फेसबुक ड्यासबोर्डमा एउटा सूचना देखेपछि यो तरंग फैलिएको हो।

उक्त सूचनामा सरकारको अनुरोध वा स्थानीय कानुनी प्रावधानका कारण केही मनिटाइजेसन टुलहरू निष्क्रिय वा सीमित गरिएको उल्लेख थियो। यसपछि धेरै प्रयोगकर्ताले फेसबुकको मातृ कम्पनी मेटाले नेपालमा तीन महिनामै मनिटाइजेसन सेवा बन्द गरेको अनुमान गरे। तर वास्तविक अवस्था भने त्यस्तो नभएको देखिन्छ।

फेसबुकको कन्टेन्ट मनिटाइजेसनका लागि योग्य देशहरूको सूचीमा नेपाल अझै पनि समावेश रहेकाले नेपाली प्रयोगकर्ताका लागि मनिटाइजेसन सुविधा हटाइएको छैन भन्ने स्पष्ट हुन्छ।

फेसबुकमा मनिटाइजेसनका विभिन्न माध्यम छन्। व्यावसायिक बाहेकका सामान्य प्रयोगकर्ताले भिडियोमा देखाइने विज्ञापन (In-Stream Ads), फ्यानले पठाउने भर्चुअल स्टार, अकाउन्ट सब्सक्रिप्सन (Fan Subscriptions) तथा कन्टेन्टको भ्यू, प्रतिक्रिया र इन्गेजमेन्टका आधारमा दिइने Performance Bonuses मार्फत आम्दानी गर्न सक्दछन्।

यसअघि नेपाली प्रयोगकर्ताका लागि यी चारवटै टुल उपलब्ध भए पनि हाल तीमध्ये फ्यान सब्सक्रिप्सन टुल धेरैका लागि निष्क्रिय गरिएको देखिन्छ। विज्ञहरूका अनुसार नेपालबाट अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रिया जटिल हुनु र सरकारले त्यसलाई स्पष्ट वैधता नदिनु यसको मुख्य कारण हुन सक्छ। साथै यो टुल नेपाली प्रयोगकर्तामाझ खासै प्रयोगमा पनि थिएन।

अन्य तीनवटा मनिटाइजेसन टुल भने सक्रिय नै रहेकाले नेपाली प्रयोगकर्ताले फेसबुकमार्फत आम्दानी गर्न सक्ने अवस्था कायमै छ। तर नेपालको कर नीति, अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको कठिनाइ तथा मेटाको नेपालमा सम्पर्क कार्यालय नहुनुजस्ता कारणले अन्य टुलमार्फत हुने भुक्तानीमा पनि बेला–बेला समस्या आउने गरेको गुनासो सुनिँदै आएको छ।

फेसबुकले सरकारको अनुरोध वा स्थानीय कानुनका कारण केही टुल निष्क्रिय गरिएको बताए पनि यस विषयमा नेपाल सरकारले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। साथै कुन टुल किन बन्द गरिएको हो भन्ने विषयमा पनि स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।

— एजेन्सीको सहयोगमा

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.