Home » Blog » कांग्रेस विशेष महाधिवेशन: नागरिकका असन्तुष्टि ‘केस्रा–केस्रा’ केलाउने महामन्त्री शर्माको उद्घोष

कांग्रेस विशेष महाधिवेशन: नागरिकका असन्तुष्टि ‘केस्रा–केस्रा’ केलाउने महामन्त्री शर्माको उद्घोष

Ankushdaily
0 comment 7 views
काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पछिल्लो समय आम नागरिकमा देखिएको चरम असन्तुष्टिलाई पार्टीले गम्भीरतापूर्वक लिने बताएका छन्। आइतबारबाट काठमाडौँमा सुरु भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै शर्माले जनगुनासो र नागरिकका अपेक्षालाई ‘केस्रा–केस्रा’ केलाएर छलफल गर्ने प्रतिबद्धता जनाएका हुन्।
महामन्त्री शर्माले अबको महाधिवेशन केवल पार्टीको आन्तरिक सांगठनिक संरचनामा मात्र केन्द्रित नभई आम जनताको समस्या पहिचान र समीक्षा गर्ने थलो बन्ने दाबी गरे। “आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, तपाईंहरूका प्रत्येक असन्तुष्टिलाई हामी बुँदागत रूपमा संकलन र पहिचान गर्नेछौं,” उनले भने, “फागुन २१ गते रुख चिन्हमा मतदान हुनुअघि नै यी गुनासाहरूलाई नदोहोर्‍याउने संकल्पसहित हामी अघि बढ्दैछौं।”
शर्माले राजनीतिक अस्थिरता र प्रशासनिक ढिलासुस्तीप्रति कडा प्रहार गर्दै पछिल्लो ३४ वर्षमा ३० वटा सरकार परिवर्तन भए पनि नागरिकको जीवनस्तरमा सुधार नआएको स्वीकार गरे। सरकार फेरबदल हुनुले नेताहरूलाई सन्तुष्टि दिए पनि भुइँतहका मानिसहरूले त्यसको अनुभूति गर्न नसकेको उनको तर्क थियो।
प्रशासनिक र कृषि क्षेत्रको सास्तीमाथि व्यङ्ग्य
सम्बोधनका क्रममा शर्माले सरकारी कार्यालयमा सेवाग्राहीले भोग्नुपर्ने ‘भोलि–भोलि’ को संस्कृतिको आलोचना गरे। “सीडीओ कार्यालय वा मन्त्रालयमा धाउँदा एउटा कोठाबाट अर्को कोठा पुग्नै सास्ती हुन्छ। यस्तो ढिलासुस्तीले मन्त्रीलाई सञ्चो लाग्ला, तर सेवाग्राहीलाई लाग्दैन,” उनले टिप्पणी गरे।
त्यसैगरी, किसानका समस्याबारे बोल्दै उनले समयमा मल नपाउने समस्यालाई प्रमुखताका साथ उठाए। मन्त्रीको अनुहार हेरेर वा भाषण सुनेर खेती नहुने भन्दै उनले किसानको खेतसम्म पुग्ने सेवा प्रवाहमा राज्य चुकेको बताए। यस्ता सबै जनसरोकारका मुद्दाहरूलाई विशेष महाधिवेशनको बन्दसत्रमा विस्तृत प्रतिवेदनका रूपमा प्रस्तुत गरिने र त्यसमाथि घनिभूत छलफल हुने शर्माले जानकारी दिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.