Home » Blog » पर्सा क्षेत्र नं. १ मा रुंगटाको पक्षमा बढ्दो जनलहर, दुई सयभन्दा बढी विभिन्न दलका कार्यकर्ता काँग्रेसमा प्रवेश

पर्सा क्षेत्र नं. १ मा रुंगटाको पक्षमा बढ्दो जनलहर, दुई सयभन्दा बढी विभिन्न दलका कार्यकर्ता काँग्रेसमा प्रवेश

Ankushdaily
0 comments 15 views
वीरगन्ज ।
प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार अनिल कुमार रुङ्गटाको पक्षमा जनसमर्थन उल्लेख्य रूपमा बढ्दै गएको छ । फागुन २१ गते हुने मतदानलाई लक्षित गरी चुनावी अभियान तीव्र पारिएसँगै विभिन्न दल परित्याग गरी काँग्रेस प्रवेश गर्नेहरूको लहर चलेको हो । यसैक्रममा वीरगन्ज महानगरपालिका–२१, परवानीपुरमा शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच नेकपा एमाले, जसपा नेपाल र लोसपा लगायतका विभिन्न राजनीतिक दलका २१० भन्दा बढी अगुवा तथा कार्यकर्ताहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । परवानीपुरका पूर्व वडाध्यक्ष हबिब मियाँको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उम्मेदवार अनिल कुमार रुङ्गटा र संविधानसभा सदस्य एवं नेपाली काँग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदीले नवप्रवेशीहरूलाई फूलमाला, टीका र गम्छा ओढाएर पार्टीमा स्वागत गर्नुभयो । क्षेत्रीय सभापति अरविन्द गुप्ताका अनुसार पार्टी प्रवेश गर्नेहरूमा उल्लेख्य संख्यामा महिला र युवाहरू रहेका छन्, जसले देशको विकास र निकासका लागि काँग्रेसप्रति भरोसा देखाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङ्गटाले मुलुकको वर्तमान जटिल परिस्थितिलाई चिर्दै समृद्धिको मार्गचित्र कोर्न काँग्रेस सक्षम रहेको दाबी गर्नुभयो । उहाँले देश संकटमा पर्दा सधैं काँग्रेसले नै अभिभावकीय भूमिका निर्वाह गरेको चर्चा गर्दै आगामी पाँच वर्षभित्र सुशासन र विकासको ठोस अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्थिरता र समृद्धिका लागि ‘रुख’ चिह्नमा मतदान गर्न आम मतदातालाई आग्रह समेत गर्नुभयो । त्यस्तै, संविधानसभा सदस्य अजय द्विवेदीले लोकतन्त्र र संघीयता जस्ता उपलब्धि काँग्रेसकै नेतृत्वमा सम्भव भएको बताउँदै अबको आर्थिक क्रान्तिको नेतृत्व पनि काँग्रेसले नै गर्ने विश्वास दिलाउनुभयो । कार्यक्रममा नेताहरू रामनारायण कुर्मी, बसरुदिन अन्सारी, जतन राउत लगायतले रुङ्गटालाई विजयी गराउन आह्वान गर्नुभएको थियो । यसैबीच, उम्मेदवार रुङ्गटाले शुक्रबार नै वीरगन्ज महानगरपालिका–३१, बेलवामा घरदैलो कार्यक्रम गरी मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको छ । बेलवा वडा इकाई कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो भने रुङ्गटाले घरदैलोका क्रममा स्थानीयका समस्या सुन्दै आफूलाई मत दिएर सेवा गर्ने अवसर प्रदान गर्न अपिल गर्नुभयो ।

सम्बन्धित पोस्टहरू